काठमाडौं । कुलिङ पिरियडमा एमाले र माओवादीका शीर्ष नेताबीच आरोप प्रत्यारोप जारी छ । शनिबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलिङ पिरियडमा एमालेले म्याउ गरेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई समेत छानबिन गर्नुपर्ने बताएपछि एमाले नेता योगेश भट्टराईले प्रतिवाद गरेका छन् ।

एमाले सचिव भट्टराईले कुलिङ अफ पिरियडमा प्रचण्डलाई अचानक भूत जागेको टिप्पणी गरेका छन्। ‘तपाईले सङ्‌घीय निजामती सेवाको विधेयकमा कुलिङ अफ पिरियडका बारेमा प्रम केपी ओलीलाई समेत छानबिन गर्नुपर्ने भनेर मन्तव्य दिनुभएकोमा गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्, ‘‘तपाई कुलिङ अफ पिरियडका सम्बन्धमा प्रचण्ड अडानमा हो भने मेरो प्रश्न छ २०८० फागुन ११ गते संसदमा विधेयक दर्ता भएको बेला तपाई नै प्रम हुनुन्थ्यो र तपाईकै अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यो विधेयकलाई संसदमा पेस गर्न स्वीकृति दिएको हो ।’

भट्टराईले प्रचण्ड प्रधानमन्त्री हुँदा दर्ता भएको विधेयकमा कुलिङ पिरियडबारे केही नलेखेको पनि बताएका छन् । ‘जसमा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था गरिएको छैन। यसले स्पष्ट गर्दछ कि तपाई कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन। आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो ?’

ADVERTISEMENT

उनले आफूहरू विधेयकमा कुलिङ अफ पिरियड समावेश गर्नुपर्छ भन्ने पक्षमा रहेको पनि दाबी गरे । ‘तपाईले वर्तमान प्रम केपी ओलीमाथि व्यङ्ग्य गर्नुभएछ। सांसदहरूको संशोधन प्रस्तावपछि मात्र यो विषयको बहस सुरु भएको हो,’ उनले लेखेका छन्, ‘छानबिन त तपाईमाथि नै गर्नुपर्ने हो कि ? आफ्नै बोली आफैँलाई गला पासो नहोस् ।’

ADVERTISEMENT

भट्टराईले प्रचण्ड प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको वरिष्ठतम सदस्य रहेको स्मरण गराएका छन्। उक्त समितिले विधेयकमा कुलिङ अफ पिरियड राख्ने निर्णय गरे पनि समितिको प्रतिवेदन संसदमा पेस हुँदा सो व्यवस्थालाई तलमाथि गरिएको भन्दै उनले प्रचण्डको नैतिकतामाथि प्रश्न उठाएका छन्।

ADVERTISEMENT