काठमाडौं । एमाले उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी ओलीले लगाएको आरोपको खण्डन गरेका छन् ।

बिहीबार एक दैनिक पत्रिकामा ओलीले गोकुल बाँस्कोटाले काभ्रेमा पार्टी कार्यकर्तामा विभाजन ल्याएको, सुरेन्द्र पाण्डे र योगेश भट्टराईले जित्ने स्थिति नरहेको, बिन्दा पाण्डेको कुनै आधारै छैन भन्दै दिएको अन्तर्वार्ता र भिडियोको प्रतिवाद गर्दै उनले यस्तो बताएका हुन् । भट्टराईले चुनावको मुखमा अध्यक्ष ओलीले दिएका अभिव्यक्तिबाट आफू निकै चिन्तित र दुःखी भएको जनाएका छन् ।

ADVERTISEMENT

‘सुरेन्द्र पाण्डे र योगेश भट्टराईले जित्ने स्थिति रहेन यसपटक । बिन्दा पाण्डेको कुनै आधारै छैन । गोकुलजीले कार्यकर्ता पंक्तिमा अलि बढी विभाजन ल्याउनुभयो । त्यहाँको कार्यकर्ता पंक्ति हिजो एकढिक्का भएर लागेको थियो, आज उहाँले अलि विभाजित गर्दा अप्ठ्यारो स्थिति भयो कि’ भनेर ओलीले भनेका थिए । त्यो विषयले आफूलाई धेरै सञ्चारकर्मीहरूले फोन गरेर प्रतिक्रिया मागिरहेको भन्दै भट्टराईले पार्टीको आन्तरिक विषयमा बहस गर्न नचाहने उल्लेख गरेका छन् ।

‘फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्न चाहन्न । मेरो मिसन सूर्य चिह्न र एमाले हो । नो इट नो बट । म विचलित र निराश छैन । यत्ति भन्छु अध्यक्षको कुराबाट चिन्तित छु, दुःखी छु । कसैले पनि जीतको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने मलाई विश्वास छैन । यस विषयमा मलाई थप फोन नगर्नुहोला,’ योगेशले सामाजिक सञ्जालमा लेखेका छन् ।

ADVERTISEMENT