काठमाडौं। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार अदालतमा पेस गरिँदै छ।  शनिबार पक्राउ परेका उनीहरूलाई प्रहरीले थुनामा राखेर थप अनुसन्धान गर्न अनुमति माग्दै अदालत उपस्थित गराउने तयारी गरेको हो।

शनिबार सार्वजनिक बिदा परेकाले पक्राउपछि उनीहरूलाई प्रारम्भिक रूपमा हिरासतमा राखिएको थियो। अब कानुनी प्रक्रिया अनुसार जिल्ला अदालत काठमाडौंमा पेस गरी म्याद थपका लागि अनुरोध गरिनेछ।

ADVERTISEMENT

ओली नेतृत्वको सरकारको समयमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ठूलो मानवीय क्षति भएको थियो। उक्त घटनामा व्यापक हिंसा र दमन भएको भन्दै छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले विस्तृत प्रतिवेदन तयार पारेको थियो।

ADVERTISEMENT

प्रतिवेदनमा आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको उल्लेख गर्दै त्यसको मुख्य जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकमाथि तोकिएको छ। आयोगले उनीहरूविरुद्ध कानुनी कारबाही अघि बढाउन सरकारलाई सिफारिस गरेको थियो।

सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै प्रहरीले दुवै नेतालाई नियन्त्रणमा लिएको हो। पक्राउपछि देशको राजनीतिक वातावरण तातेको छ भने विभिन्न दल तथा नागरिक समूहबाट पक्ष–विपक्षमा प्रतिक्रिया आइरहेका छन्। आज अदालतमा पेस गरिएपछि उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउने वा अन्य विकल्पबारे अदालतले निर्णय गर्नेछ।

ADVERTISEMENT