काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै पूर्व सचिवसहित २१ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण का तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल र प्रदीप अधिकारी लगायतलाई प्रतिवादी बनाएको छ ।त्यसैगरी, ठेकेदार कम्पनी China CAMC Engineering Co. Ltd. विरुद्ध पनि आइतबार विशेष अदालत मा आरोपपत्र दायर गरिएको हो ।

ADVERTISEMENT

आयोगका अनुसार पोखरामा निर्माण गरिएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा अनियमितता भएको ठहर गर्दै ४६ करोड १५ लाख ८४ हजार ४२४ रुपैयाँ विगो दावीसहित मुद्दा दायर गरिएको हो ।विमानस्थल निर्माणका क्रममा परामर्शदाता नियुक्तिमा समेत भ्रष्टाचार भएको उजुरीमाथि गरिएको अनुसन्धानपछि अनियमितता पुष्टि भएको आयोगले जनाएको छ ।

अभियोगपत्रमा प्राधिकरणका उच्च अधिकारीहरूले स्वीकृत बजेट प्रयोग नगरी राज्यलाई थप आर्थिक भार पर्ने गरी प्राधिकरणकै आन्तरिक स्रोतबाट ५० करोड ३४ लाख ४० हजार ६९६ रुपैयाँको लागत अनुमान स्वीकृत गराई दोहोरो खर्च गराएको उल्लेख गरिएको छ ।

ADVERTISEMENT

यस प्रकरणले बहुचर्चित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ ।