काठमाडौं । दक्षिणकाली नगरपालिका-२ ग्वालदहमा यतिबेला एउटै ढुंगाले बनेको मूर्तिको व्यापक चर्चा छ । २०१२ सालमा स्वर्गीय लालबहादुर महतले दान गरेको निजी जग्गामा बनेको पीपलबोट चौतारोमा पुनर्निर्माण गरेर अहिले एउटै ढुंगाको विष्णुकाे मूर्ति बनाइएको छ ।
ऐतिहासिक पीपल चौतारो सडक विस्तार गर्ने क्रममा मासिन पुगेको थियो । प्राकृतिक दुर्घटनाका कारण ढुंगा गुडेर आएर पीपलको बोटमा लाग्यो, जसकारण पीपलको रुख सुक्न पुग्यो । चौतारोमा समेत क्षति पुग्यो । तर २०२९ सालमा पुनः स्थानीयवासीको पहल र सहयोगमा चौतारोको जिर्णोद्वार गरियो र नयाँ पीपलको बिरुवा रोपियो । यसरी चौतारोले पुनः जीवन पायो । त्यही चौतारोमा अहिले विष्णुको मूर्ति निर्माण भएको छ । आगामी चैत १३ गते रामनवमीको अवसर पारेर मूर्तिमा प्राण प्रतिष्ठा गर्न लागिएको चौतारो निर्माण समितिका अध्यक्ष शिवहरि लुइँटेलले जानकारी दिए ।
२०१२ सालमा निर्मित पीपल चौतारो गाउँलेहरूका लागि विश्राम, भेला र धार्मिक आस्थाको केन्द्र बन्न पुगेको थियो । चतुरमासमा पुराण वाचन पण्डित झलकनाथ उपाध्याय लुइँटेलले गर्ने गर्थे । २०२९ सालको प्राकृतिक विपत्ति र २०७९ को सडक विस्तारका क्रममा पीपल चौतारोमा क्षति पुग्यो । चौतारो भत्काइयो । सात दशकअघि निर्मित पीपल चौतारो मासिएकामा गाउँलेहरूको भावनामा गहिरो चोट पु¥यायो । त्यसपछि केही समयअघि पीपल चौतारो पुनः कलात्मक ढंगले निर्माण गर्ने निर्णय भयो ।
शिवहरि लुइँटेलको अध्यक्षतामा चौतारो निर्माण समिति बन्यो । स्थानीय समाजको एकता, समर्पण र स्थानीय बासिन्दाहरूको चन्दाबाट सोही स्थानमा केही संरचनात्मक परिमार्जनसहित कलात्मक कालो एउटै ढुंगाको नयाँ चौतारो निर्माण गरियो । यस पुनर्निर्मित चौतारोमा दानदाता स्व. लालबहादुर महतको सम्मानस्वरूप ‘दान दाता सम्मान परिवार’ भनी कुँदिएको छ । उनका पुत्र श्रीकृष्ण महत र बुहारी भगवती महत दम्पतीको प्रतिमा पनि चौतारामा कुँदिएको छ ।
स्थानीय ग्वालदहवासी पीपल चौतारो केवल ढुंगा र माटोको संरचना मात्र नभई दान, त्याग, एकता र पुनर्जागरणको प्रतीक भएको बताउँछन् । २०१२ देखि २०८२ सम्मको यात्रामा यस चौतारोले प्राकृतिक विपत्ति, विकासको परिवर्तन र समयका अनेक चुनौती पार गर्दै स्थानीय समाजको सहयोग, चन्दा र अटल आस्थाका कारण आज पुनः गौरवका साथ उभिएको अध्यक्ष लुइँटेलले बताए छ ।








