विराटनगर । मोरङको सुन्दरहरैचाका ५२ वर्षीय रमेश थापालाई आफन्तको आकस्मिक शल्यक्रियाका लागि एबी पोजेटिभ रगत अत्यावश्यक थियो । चिकित्सकले तत्काल रगतको खोजी गर्न भने । सोहीअनुसार रक्तसञ्चार केन्द्रमा सम्पर्क गर्दा त्यहाँ मौज्दात नभएपछि उनी रक्तदाताको खोजीमा भौँतारिए ।

‘चिकित्सकले तुरुन्तै रगत चाहिन्छ भन्नुभयो, तर रक्तसञ्चार सेवा केन्द्रमा रगत अभाव छ भन्ने जानकारी पाएँ’, थापाले भने, ‘त्यसपछि हामीले सामाजिक सञ्जाल फेसबुकमा रगतको व्यवस्थापनका लागि सन्देश हाल्यौँ, साथीभाइलाई फोन ग¥यौँ, तर समयमा रगत पाउन निकै गाह्रो भयो । उक्त समयमा हामीलाई सबैभन्दा ठूलो डर बिरामीको ज्यानको हुने रहेछ । रगत खोज्दै दौडधुप गर्दा निकै तनाव भयो ।’

ADVERTISEMENT

कोशी अस्पतालमा उपचारका लागि आएका अर्का एक बिरामीका आफन्तले पनि यस्तै समस्या सुनाए । ‘अस्पतालमा रगतको व्यवस्था होला भन्ने सोचेका थियौँ’, उनले भने, ‘तर अन्तिममा आफैँले खोज्नुपर्दा निकै अप्ठ्यारो भयो । यस्तो अवस्थामा बिरामीको परिवार झन् मानसिक दबाबमा पर्ने रहेछ ।’

रमेशको जस्तै अवस्था अहिले कोशी प्रदेशका प्रमुख अस्पतालहरूमा उपचार गराइरहेका सयौँ बिरामीका परिवारले भोगिरहेका छन् । आकस्मिक उपचारका लागि आवश्यक रगत सहज रूपमा उपलब्ध नहुँदा बिरामीका आफन्त आफैँ रक्तदाता खोज्न बाध्य छन् ।

ADVERTISEMENT

रगत अभावको समस्या पछिल्लो समय झन् गम्भीर बन्दै गएको छ । आकस्मिक शल्यक्रिया, दुर्घटना तथा प्रसूतिजस्ता अवस्थामा तत्काल रगत आवश्यक पर्ने हुँदा समयमा उपलब्ध नहुँदा बिरामीको ज्यान जोखिममा पर्ने चिकित्सकहरू बताउँछन् ।

कोशी प्रदेशका सरकारी तथा निजी अस्पतालमा आवश्यक परिमाणमा रगत उपलब्ध नहुँदा आकस्मिक अवस्थामा बिरामीका आफन्त आफैँ रक्तदाता खोज्न सडक र फेसबुकका भित्ताहरूमा निस्कनुपर्ने अवस्था दिनप्रतिदिन बढ्दै गएको छ । रगत व्यवस्थापनको यो चुनौती अहिले गम्भीर समस्याका रूपमा देखिएको हाम्रो अस्पताल विराटनगरका सञ्चालकसमेत रहनुभएका निजी अस्पताल एसोसिएसन (अफिन) का अध्यक्ष डा.शंकरप्रसाद अधिकारीले बताए।

उनका अनुसार रक्तसञ्चार सेवा केन्द्रहरूमा रगतको पर्याप्त भण्डारण (स्टोरेज) नहुँदा अस्पतालहरूले आकस्मिक बाहेकका बिरामीका आफन्तलाई आफैँ रगत व्यवस्थापन गर्न वा साट्न (एक्सचेन्ज) आग्रह गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको हो ।

बिरामीका आफन्तले रगत व्यवस्थापन गर्दा अस्पताल व्यवस्थापनलाई केही सहजता भए पनि सडक दुर्घटना (आरटिए) जस्ता तत्काल रगत चाहिने आकस्मिक अवस्थामा भने अझै पनि ठूलो जोखिम र चुनौती कायम रहेको उनको बुझाइ छ ।

क्षेत्रीयस्तरमा रगतको केन्द्रीकृत व्यवस्थापन (सेन्ट्रलाइज्ड म्यानेजमेन्ट) हुनुपर्नेमा अधिकारीले जोड दिए । धेरैजसो साना अस्पतालहरूमा आफ्नै ब्लड बैंक नहुने र उनीहरू रेडक्रस, नोबेल वा विराटनगरका ठूला संस्थामा निर्भर रहनुपर्ने बाध्यता छ ।

विराटनगरस्थित प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशी अस्पतालमा बिरामीको चापसँगै उपचारमा आउनेले दैनिक रगतको अभावको समस्या भोग्नु परेको स्त्री तथा प्रसूति रोग विभागकी प्रमुख डा. अन्जु देवले जानकारी दिइन् । प्रसूति र सर्जरी सेवा अत्यन्तै आपत्कालीन हुने भएकाले रगत अभाव हुँदा यो विभाग सबैभन्दा बढी समस्यामा पर्ने गरेको उनको भनाइ छ ।

प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका प्रमुख एवं रक्तसञ्चार सेवा अधिकृत शिवानन्द यादवका अनुसार कोशी प्रदेशमा दैनिक करिब ९०० देखि एक हजार युनिटसम्म रगतको माग हुने गरेको छ । विशेषगरी मोरङ जिल्लाका अस्पतालहरूमा रगतको माग अत्यधिक हुने गरेको उनको भनाइ छ ।