काठमाडौं। कम्बोडियामा विभिन्न व्यक्तिको प्रलोभनमा परी पुगेका र त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा काम गर्न बाध्य बनाइएका २१ नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ।
कम्बोडियामा बिनाभिसा बसिरहेका तथा विभिन्न गैरकानुनी काममा संलग्न गराइएका ती नेपालीलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरिएको हो। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूलाई आज नेपाल फर्काइएको दूतावासले जनाएको छ।
दूतावासका अनुसार कम्बोडियामा नेपाली नागरिकलाई अनलाइन ठगीलगायत गैरकानुनी गतिविधिमा लगाइने र कतिपय बिनाभिसा वा भिसाको अवधि सकिएपछि पनि बसिरहेको जानकारी प्राप्त भएपछि उद्धार प्रक्रिया अघि बढाइएको हो।
यसैबीच, कठिन परिस्थितिमा रहेका वा अलपत्र परेका अन्य नेपाली नागरिकलाई पनि स्वदेश फर्काउने पहल जारी रहेको दूतावासले जनाएको छ। दूतावासले अवैध रूपमा वा अप्ठ्यारो अवस्थामा बसिरहेका नेपालीलाई नेपाल फर्कन सहजीकरणका लागि बैंककस्थित नेपाली राजदूतावास वा गैरआवासीय नेपाली सङ्घ कम्बोडियाका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरेको छ।
दूतावासका अनुसार स्क्यामिङ केन्द्रमा काम लगाइएका धेरै नेपालीको राहदानी सम्बन्धित कम्पनीले जफत गर्ने गरेको वा स्थानान्तरणका क्रममा राहदानी हराएको गुनासो प्राप्त भएको छ। त्यस्तो अवस्थामा नेपाल फर्कन चाहने नेपालीलाई बैंककस्थित नेपाली राजदूतावासले बिनाशुल्क एकतर्फी यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेर उद्धार गर्ने व्यवस्था मिलाएको जनाएको छ।
कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा नेपालीहरूको आगमन उल्लेखनीय रूपमा बढेको छ। सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएकामा सन् २०२२ मा एक हजार ९७७ जना पुगेका थिए। सन् २०२३ मा दुई हजार ९४० जना, सन् २०२४ मा छ हजार ४०४ जना र सन् २०२५ मा नौ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेको तथ्याङ्कमा उल्लेख छ।
दूतावासले नेपाल सरकारले तोकेको मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ। साथै छिटो र धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यान्मार, थाइल्याण्डलगायत देशहरूमा भ्रमणको बहाना बनाएर वैदेशिक रोजगारीका लागि नजान नागरिकलाई सचेत गराएको छ।






