सुर्खेत। सुर्खेतकी इनिशा विकको बलात्कार तथा हत्या घटनाका दोषीलाई कानुनी दायरामा ल्याई अधिकतम सजाय दिन माग गर्दै रौतहटको चन्द्रपुरमा स्थानीयले शान्तिपूर्ण र्‍याली निकालेका छन्। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई छिटो कारबाही गर्न सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको हो।

सञ्जीव विश्वकर्माको संयोजनमा आयोजित र्‍याली चन्द्रपुर नगरपालिकाको कार्यालय अगाडिबाट सुरु भई चपुर त्रिकोणात्मक चोकसम्म मार्चपास गरिएको थियो। र्‍यालीमा सहभागीहरूले ‘सरकार कहिलेसम्म बलात्कार?’, ‘बलात्कारीलाई फाँसी दे’, ‘इनिशालाई न्याय दे’, ‘महिला अधिकारको रक्षा गर’ र ‘महिला हिंसा बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

ADVERTISEMENT

र्‍यालीपछि मेनचोकमा आयोजित कोणसभामा बोल्दै संयोजक विश्वकर्माले नेपालमा यस्ता घटनामा पीडितले समयमै न्याय नपाएको उदाहरण धेरै रहेको बताए। उनले इनिशा विकको घटनामा पनि दोषी उम्कन नपाओस् भन्ने उद्देश्यले नागरिकस्तरबाट दबाब सिर्जना गर्न र्‍याली आयोजना गरिएको स्पष्ट पारे।

‘ढिलो न्याय दिनु भनेको अन्याय सरह हो,’ उनले भने, ‘त्यसैले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याएर कडा कारबाही गरिनुपर्छ।’

ADVERTISEMENT

विश्वकर्माले महिला दलित भएकै कारण बलात्कारको सिकार बन्ने होइन तर दलित समुदायबाट आएकी भएकाले न्याय प्रक्रियामा ढिलाइ हुने वा घटनालाई ढाकछोप गरिने हो कि भन्ने आशंका समाजमा उत्पन्न हुन सक्ने बताए। उनले यस्तो संवेदनशील घटनामा राज्य अझ जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिए।

र्‍यालीमा सहभागीहरूले महिला हिंसा तथा यौनजन्य अपराधविरुद्ध कडा कानुनी कारबाही सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका थिए। स्थानीयवासीले पीडित परिवारलाई न्याय दिलाउन राज्यले छिटो र प्रभावकारी कदम चाल्नुपर्ने माग समेत गरेका छन्।