काठमाडौं। हिजो परेको वर्षा र हावाहुरीका कारण काठमाडौं उपत्यकाको वायु प्रदूषण अघिल्ला दिनहरूको तुलनामा केही घटेको देखिएको छ।विश्वभरको वायु गुणस्तर रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डस्थित आईक्यू एयरका अनुसार आज बिहान साढे ६ बजे काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) ८६ मापन भएको छ। यसअघि बिहानै एक्यूआई ३४ सम्म पुगेको थियो, जुन स्वास्थ्यका दृष्टिले राम्रो स्तर मानिन्छ।

यसअघि फागुन २६ गते काठमाडौंको वायु गुणस्तर सूचकांक २०६ पुगेको थियो भने हिजो पनि एक्यूआई १५० भन्दा माथि पुगेको थियो। यस्तो स्तरलाई वायु गुणस्तर अति खराब मानिन्छ।

विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार एक्यूआई ५० सम्म हुँदा वायु गुणस्तर राम्रो, ५१ देखि १०० सम्म मध्यम, १०१ देखि १५० सम्म संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० अस्वस्थ र २०१ देखि ३०० निकै अस्वस्थ मानिन्छ। ३०१ भन्दा माथि पुगेमा भने वायु गुणस्तर खतरनाक तहमा पुगेको संकेत मानिन्छ।

मौसमविद्हरूका अनुसार हिजो काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी क्षेत्रका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो। वर्षासँगै चलेको हावाहुरीले आकाशमा जमेको धुलोका कणहरू केही हदसम्म पखालिएकाले वायु प्रदूषणमा कमी आएको हो।

यद्यपि, आईक्यू एयरले दिउँसोतिर काठमाडौं उपत्यकामा वायु गुणस्तर पुनः केही खस्किन सक्ने पूर्वानुमान गरेको छ।