काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चढेको हेलिकोप्टर खराब मौसमका कारण झापामा अवतरण गर्न नसकी काठमाडौं नै फर्किएको छ।

हेली एभरेस्टको नाइन एन एओबी उडानमार्फत शाहसहित पाँच सदस्यीय टोली बिहान ९:१२ बजे काठमाडौंबाट झापाका लागि प्रस्थान गरेको थियो। तर झापामा मौसम प्रतिकूल भएका कारण हेलिकोप्टर डाइभर्ट गरी पुनः काठमाडौं फर्काइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार उक्त हेलिकोप्टर बिहान १०:१० बजे काठमाडौंस्थित विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरेको थियो।

बालेन्द्र शाहले बिहीबार बिहान काठमाडौंको सिनामंगलस्थित मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरेपछि झापातर्फ प्रस्थान गरेका थिए। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट झापा–५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।