धनगढी । कैलालीको धनगढी उप–महानगरपालिका–१३ मा होली मनाउने क्रममा दुई समूहबीच झडप हुँदा दुई प्रहरीसहित एक स्थानीय घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।
मंगलबार साँझ करिब ६ बजेतिर पुरानो रिसइबीको विषयमा दुई टोलका युवाबीच वादविवाद भएपछि झैझगडा सुरु भएको प्रहरीले जनाएको छ। स्थिति असामान्य बन्दै गएपछि कैलाली निर्वाचन क्षेत्र–५ अन्तर्गत जनता राष्ट्रिय माध्यमिक विद्यालय राजपुरको मतदानस्थलमा खटिएको प्रहरी टोली तथा धनगढीबाट थप प्रहरी परिचालन गरिएको थियो।
झडपका क्रममा असई डबल साउद र धनगढी वडा प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक बलराम पाण्डे गम्भीर घाइते भएका छन्। यस्तै स्थानीय लोकेश खत्री पनि घाइते भएका छन्। घाइतेहरूको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भीड नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेकै बेला करिब तीन सय जनाको समूहले प्रहरी टोली र प्रहरी भ्यानमाथि ढुंगामुढा प्रहार गरेको थियो। ढुंगामुढाबाट प्रहरीको बा.प्र. ३४८० नम्बरको स्कार्पियो भ्यानको सिसा फुटेको छ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा धनगढी–१३ बस्ने रामदयाल राना, राकेश सुनार, नरसिंह राना, सुनिल चौधरी र जितेन्द्र रानासहित १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। अन्य संलग्न व्यक्तिहरूको खोजतलास तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।