काठमाडौं । कामचलाउ सरकारका महिलामन्त्री श्रद्धा श्रेष्ठ चुनावलगत्तै अमेरिका भ्रमणमा जाने भएकी छन् । मन्त्रिपरिषद्को चार दिनअघि बसेको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई अमेरिका जान स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

मन्त्री श्रेष्ठ फागुन २५ मा अमेरिका पुग्नेछिन । नयाँ सरकारको प्रक्रिया अघि बढ्ने बेलामा मन्त्री श्रेष्ठको विदेश भ्रमणलाई जनताले राम्रो मानेका छैनन् ।

ADVERTISEMENT

‘न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय महिलाको स्थितिसम्बन्धी आयोगको ७०औँ सम्मेलन (२५ फागुनदेखि ५ चैतसम्म) मा सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री माननीय श्रद्धा श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने,’ निर्णयमा भनिएको छ । मतदान सकिएको चार दिनमा मन्त्री श्रेष्ठ अमेरिका जाने तयारीमा लागेकी हुन् ।

यसअघि जेनजी मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण रोकिएको थियो । विना आयोजना सरकारी खर्चमा अमेरिका जान लागेपछि विवाद आएको थियो । विवादकै क्रममा अमेरिका जाने चाहना राखेपनि उनको भ्रमण रोकिएको थियो ।

ADVERTISEMENT

मन्त्री गुप्तालाई अमेरिकाको टेक्सस राज्यको डालस सहरमा जनवरी १६ मा हुने ‘रुल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ द नेपाल पोस्ट जेन–जी रिभोलुसन’ विषयक युवा सम्मेलनमा बोलाइएको थियो । अहिले मन्त्री श्रद्धा जाने कार्यक्रममा सचिव उर्मिला अर्याल गएपछि मन्त्री जानुनपर्ने भए पनि सरकारले भ्रमण स्वीकृत गरिदिइसकेको छ ।