काठमाडौं। निर्वाचन आयोग ले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा दुई जना प्रतिनिधिसभा सदस्य उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गर्ने निर्णय गरेको छ।
केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिको निर्णयअनुसार नेपाल कम्युनिस्ट पार्टी का उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भूसाललाई २५–२५ हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै ‘श्रम शक्ति’ नामक राजनीतिक दललाई पनि २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको आयोगले जनाएको छ।
समितिका संयोजक तथा निर्वाचन आयुक्त सगुन शमशेर जबराका अनुसार आचारसंहिता उल्लंघनसम्बन्धी सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नआएपछि जरिवाना गरिएको हो।
उनले उजुरीका आधारमा मात्र कारबाही नगरी प्रमाणको मूल्याङ्कनपछि निर्णय गरिएको स्पष्ट पारे। “उजुरी पर्नु मात्र पर्याप्त हुँदैन, आयोगलाई कारबाही गर्न प्रमाण आवश्यक हुन्छ। कसैलाई दुःख दिन बिना आधार नाम पोल्ने प्रवृत्ति पनि हुन सक्छ,” उनले भने।
आयोगका अनुसार हालसम्म देशभरबाट ३ सयभन्दा बढी आचारसंहिता उल्लंघनका उजुरी परेका छन्। केन्द्रीय तहबाट ८२ जनासँग स्पष्टीकरण मागिएकोमा ५७ जनाले जवाफ बुझाइसकेका छन् भने ६ जनासँग पुनः स्पष्टीकरण मागिएको छ।
त्यस्तै दुई जना कर्मचारीलाई सचेत गराइएको र एक संस्थानले आचारसंहिता उल्लंघनका कारण कर्मचारीलाई हटाएको विषयमा परेको उजुरीपछि पुनर्बहाली गर्न निर्देशन दिइएको पनि आयोगले जनाएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गरिने आयोगको भनाइ छ।








