पोखरा। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटनाप्रति पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गहिरो दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाएका १७ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।
उनले राति करिब १:३० बजे धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–५, भैँसीगौँडास्थित पृथ्वी राजमार्गबाट बस त्रिशूली नदी किनारमा खसेको खबरले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् ।
दुर्घटनामा घाइते भएका २४ जनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन टोली, गोताखोर तथा स्थानीयवासीप्रति धन्यवाद व्यक्त गरेका छन् । साथै दुःखको यस घडीमा पीडित परिवारलाई आवश्यक सहयोग र मानवीय संवेदनशीलता प्रदर्शन गर्न सबैमा आग्रह गरेका छन्।







