काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विरुद्ध नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी दर्ता भएको छ।
काठमाडौं–३१ का युवराज सफलले शुक्रबार गृह मन्त्रालयमा उजुरी दिँदै शाहले आफूखुसी थर परिवर्तन गरेको आरोप लगाएका छन्। उजुरीमा शाहको नागरिकता रद्द गर्न, पाँच वर्ष कैद सजाय तथा रु एक लाख जरिवाना गर्न माग गरिएको छ।
उजुरीअनुसार शाहले २०६३ पुस ६ गते महोत्तरीबाट लिएको नागरिकतामा ‘साह’ थर उल्लेख भएको तर २०७९ असार १९ गते काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएपछि लिएको नागरिकताको प्रतिलिपिमा ‘शाह’ थर बनाइएको दाबी गरिएको छ।
झुटो विवरण पेस गरी थर परिवर्तन गरेको आरोप लगाउँदै उजुरीकर्ताले तत्काल पक्राउ गरी आवश्यक कानुनी कारबाही गर्न माग गरेका छन्।







