ललितपुर। ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित श्री गम्भीर समुन्द्र सेतु माध्यमिक विद्यालयको प्राङ्गणमा ‘८४५औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रम अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनको आयोजनामा फेब्रुअरी १८ मा गरिएको हो।

आयोजकका अनुसार फाउन्डेसनका सदस्य, परिवारजन तथा स्थानीय बासिन्दासहित ३२० भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा प्राथमिक स्वास्थ्य परीक्षणपछि १९० जना योग्य सहभागीले रक्तदान गरेका थिए। कार्यक्रममार्फत कुल ७६ हजार मिलिलिटर रगत संकलन गरिएको जनाइएको छ।

ADVERTISEMENT

रक्तदानप्रति निरन्तर सहभागिता बढाउने, जीवन बाँड्नुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा समुदायमा देखिने रगत अभाव न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको फाउन्डेसनले जनाएको छ। रगत कृत्रिम रूपमा उत्पादन गर्न नसकिने भएकाले स्वेच्छिक रक्तदानको संस्कृति विस्तार आवश्यक रहेको आयोजकको भनाइ छ।

ADVERTISEMENT

फाउन्डेसनका नेपाल अध्यक्ष किशोर सामसोहाङका अनुसार उक्त अभियान ललितपुरमा मात्र सीमित नभई देशका अन्य स्थानमा पनि निरन्तर सञ्चालन गर्ने योजना रहेको छ। विश्वव्यापी स्तरमा सञ्चालन हुँदै आएको यस अभियानले एक जनाको रक्तदान अर्को व्यक्तिसम्म विस्तार हुँदै आदान–प्रदानको सद्गुण चक्र निर्माण गर्ने लक्ष्य लिएको बताइएको छ।

दक्षिण कोरियाबाट सुरु भएको यो कार्यक्रम विगत दुई दशकदेखि विभिन्न देशमा आयोजना हुँदै आएको छ। गत वर्षसम्म ६४ देशका करिब एक लाख ३७ हजारभन्दा बढी सहभागीमध्ये ६२ हजारभन्दा बढीले रक्तदान गरिसकेको तथ्याङ्क फाउन्डेसनले सार्वजनिक गरेको छ।

ADVERTISEMENT

कार्यक्रममा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन, ललितपुर जिल्ला समन्वय समितिका उपप्रमुख रामलाल थिङ, टिकाथली प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक हरि कुमार खड्का, विद्यालयकी प्रधानाध्यापक निरा कुमारी श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार कुमार केसी तथा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सचिव बोलबहादुर मगरलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका अवसरमा विद्यालय परिसरमा यसअघि गरिएको पूर्वाधार सहयोग र स्वच्छ पिउने पानी व्यवस्थापनमा फाउन्डेसनको योगदानबारे पनि जानकारी गराइएको थियो।

संयुक्त राष्ट्रसंघको विश्वव्यापी सञ्चार विभागसँग साझेदारी रहेको अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले नेपालमा शिक्षा, वातावरण, विपद् राहत तथा स्वास्थ्य क्षेत्रमा विभिन्न स्वयंसेवी गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। सन् २०१५ को भूकम्पपछिको राहत वितरण, बाढीपहिरो प्रभावित क्षेत्रमा सहयोग, कोभिड–१९ महामारीका समयमा सामग्री वितरणलगायतका कार्यक्रमहरू सञ्चालन गरिएको उल्लेख गरिएको छ।

फाउन्डेसनले विभिन्न देशबाट स्वयंसेवा र मानवीय सेवाका लागि सम्मान तथा पुरस्कार प्राप्त गरेको जानकारी पनि कार्यक्रममा साझा गरिएको थियो।