काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव ले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देश जारी गर्दै लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ गर्दै राष्ट्रिय एकता र समृद्धितर्फ अघि बढ्न आह्वान गरेका छन्।

उपराष्ट्रपति यादवले प्रजातन्त्र दिवस ऐतिहासिक उपलब्धिको प्रतीक मात्र नभई भविष्यप्रति नयाँ प्रतिबद्धता व्यक्त गर्ने अवसर भएको बताएका छन्। संविधानमा निहित सङ्घीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व र कानुनी राज्यका सिद्धान्तहरूलाई अक्षुण्ण राख्दै कार्यान्वयनमा प्रभावकारी ढंगले अघि बढ्नुपर्ने बताएका छन्। गरिबी, अशिक्षा, बेरोजगारी तथा विभेद अन्त्य गर्ने दिशामा सबै पक्ष एकजुट हुनुपर्ने उनले भनेका छन्।

ADVERTISEMENT

उनले लोकतन्त्रलाई संस्थागत र बलियो बनाउन राजनीतिक दल, नेतृत्व वर्ग तथा नागरिक समाज सबैको भूमिका महत्वपूर्ण हुने बताएका छन्। आदर्श आचरण, सकारात्मक सोच र जिम्मेवारपूर्ण व्यवहारलाई आत्मसात् नगरेसम्म लोकतन्त्रको मर्म सुदृढ हुन नसक्ने उनले बताएका छन्। लोकतन्त्र केवल व्यवस्थागत संरचना नभई व्यवहार र संस्कार पनि भएको उल्लेख गर्दै उनले त्यसलाई जीवनशैलीकै रूपमा अपनाउनुपर्ने बताएका छन्।

उपराष्ट्रपति यादवले नागरिक अधिकारको रक्षा र समान अवसरको सुनिश्चितता राज्यको प्रमुख दायित्व भएको बताएका छन्। सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्न सबै तह र निकायले इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका छन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन संविधानको भावना अनुरूप शासन सञ्चालन आवश्यक रहेको बताएका छन्।

ADVERTISEMENT

उनले विगतका लोकतान्त्रिक आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरूको संरक्षण गर्नु आजको आवश्यकता भएको बताएका छन्। लोकतान्त्रिक संस्थाहरूलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउँदै जनविश्वास कायम राख्नुपर्ने उनले बताएका छन्। जनताको अपेक्षा सम्बोधन गर्न सेवा प्रवाह सुधार, सुशासन प्रवर्द्धन र विकास निर्माणमा तीव्रता आवश्यक रहेको उनको भनाइ रहेको छ।

उपराष्ट्रपतिले राष्ट्रिय एकता, सामाजिक सद्भाव र पारस्परिक सम्मान लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन्। विविधतायुक्त नेपाली समाजलाई एकताको सूत्रमा बाँधेर समृद्ध राष्ट्र निर्माणतर्फ अग्रसर हुनुपर्नेमा उनले जोड दिएका छन्।

सन्देशको अन्त्यमा उपराष्ट्रपति यादवले प्रजातन्त्र दिवसले सबैलाई जिम्मेवारीबोध गराउने उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, मानवअधिकार र विधिको शासनलाई सुदृढ गर्दै समृद्ध र न्यायपूर्ण नेपाल निर्माणमा प्रतिबद्ध हुन सबैमा आग्रह गरेका छन्।