काठमाडौँ। पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि देशको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार मौसम परिवर्तनको मुख्य असर पश्चिम नेपालमा देखिनेछ, जहाँ मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसमविद् डेभिट ढकालका अनुसार माघ ९ र १० गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु हुनेछ। त्यसपछि सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा सुरु हुने अनुमान गरिएको छ। शुक्रबार रातिदेखि देशैभरका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमसम्म हिउँ पर्ने सम्भावना रहेको उनले जानकारी दिए।

विभागका अनुसार पश्चिमी वायुको प्रभावले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ। यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित असिनाको सम्भावना पनि रहेको छ।

शनिबार मौसममा केही सुधार देखिए पनि बदलीको असर देशभर रहने र चिसो बढ्ने विभागको भनाइ छ। मौसम बदलीका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने भएकाले विभागले नियमित रूपमा जारी हुने अद्यावधिक मौसमी सूचना ध्यानपूर्वक अवलोकन गर्न आग्रह गरेको छ।