काठमाडौं । राष्ट्रिय सभाका तीन सदस्यले राजीनामा दिएका छन् । सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष आइतबार राजीनामा बुझाएका हुन् । उनीहरुको फागुन २० मा ६ वर्षे कार्यकाल सकिँदै थियो ।
श्रेष्ठ, गौतम र न्यौपाने फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । नेकपा नेता श्रेष्ठ सर्लाही ३ र गौतम बर्दिया १ बाट चुनाव लड्दैछन् । न्यौपाने तनहुँ १ मा एमालेबाट सिफारिस भएकी छन् । उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजित भएकी थिइन् । एमाले अध्यक्षले उनलाई राष्ट्रिय सभामा लगेका थिए । अहिले फेरि प्रतिनिधिसभाको टिकट पाएकी छन् ।
श्रेष्ठ र गौतम त २०७४ को निर्वाचनमा माओवादी र एमालेबाट उम्मेदवार बनेका थिए । श्रेष्ठ गोरखा २ मा बाबुराम भट्टराईसँग पराजित भएका थिए । यस्तै, गौतम बर्दिया १ मा कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए । त्यसबेला एमाले र माओवादीबीच चुनावी तालमेल थियो । चुनावपछि बनेको तत्कालीन नेकपा सरकारले संविधान संशोधन गरी श्रेष्ठ र गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएको थियो । श्रेष्ठ गण्डकी प्रदेशबाट उम्मेदवार बनेर विजयी भए । गौतम भने राष्ट्रपतिबाट मनोनीत भएकी थिइन् ।
अहिले ६ वर्षे राष्ट्रिय सभाको कार्यकाल सकिनेवित्तिकै श्रेष्ठलाई फेरि पद चाहिएको छ । पदविना दुवैजना एक मिनेट पनि बस्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । श्रेष्ठलाई सर्लाही ३ मा उम्मेदवार बनाउने नेकपाको निर्णयले बबाल मच्चिएको छ । घुमिफिरी श्रेष्ठ र गौतमलाई मात्रै सांसद पद भन्दै यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने आवाज उठेको छ ।





