काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सार्ने कुनै विकल्प नरहेको स्पष्ट पारेका छन्। संविधान र लोकतन्त्र दुवैको संरक्षणका लागि तोकिएकै मितिमा निर्वाचन गरिनु अनिवार्य भएको उनको भनाइ छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रिजालले संविधानलाई पूर्ण रूपमा क्रियाशील बनाउन प्रतिनिधिसभाको आवश्यकता रहेको उल्लेख गरे। प्रतिनिधिसभा बिना संविधान व्यवहारमा लागू हुन नसक्ने अवस्था सिर्जना हुने भन्दै उनले निर्वाचन टार्ने वा अन्य विकल्प खोज्ने प्रयास मुलुकका लागि घातक हुने चेतावनी दिए।

उनले संविधान नयाँ बनाउने विषयमा अनावश्यक अलमल आवश्यक नरहेको पनि स्पष्ट पारे। “अहिले देशलाई नयाँ जनअभिमत चाहिएको छ,” उनले भने, “त्यो जनअभिमत फागुन २१ को निर्वाचनबाट मात्रै प्राप्त हुन्छ। निर्वाचनपछि गठन हुने प्रतिनिधिसभा सक्रिय भए संविधान पनि पूर्ण रूपमा क्रियाशील हुन्छ।”

डा. रिजालका अनुसार यदि निर्वाचनबाहेक अन्य कुनै बाटो अपनाइयो भने संविधान नै काम गर्न नसक्ने जटिल अवस्था आउन सक्छ। संविधान र लोकतन्त्र जोगाउने दायित्व राजनीतिक दल र नागरिक सबैको भएको उल्लेख गर्दै उनले त्यसको सबैभन्दा भरपर्दो उपाय समयमै निर्वाचन सम्पन्न गर्नु नै भएको बताए।

उनले निष्कर्षमा भने, संविधान र लोकतन्त्र जोगाउन कुनै अन्य उपाय प्रभावकारी नहुने भएकाले मुलुक अब फागुन २१ कै निर्वाचनतर्फ अघि बढ्नुपर्ने स्पष्ट धारणा राखे।