काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनाको तथ्यांकले बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलनमा उल्लेख्य सुधार देखिए पनि कर्जा प्रवाह अपेक्षाकृत सुस्त रहेको संकेत गरेको छ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप ३.९ प्रतिशतले बढेर ७५४५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप वृद्धिदर २.७ प्रतिशत मात्र थियो। वार्षिक आधारमा २०८२ मंसिर मसान्तसम्म निक्षेप १३.९ प्रतिशतले वृद्धि भएको छ।

निक्षेप संरचनामा समेत परिवर्तन देखिएको छ। कुल निक्षेपमध्ये चालु निक्षेप ६.४ प्रतिशत, बचत ३९.९ प्रतिशत र मुद्दती निक्षेप ४४.६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष मुद्दती निक्षेपको हिस्सा बढी रहे पनि यस वर्ष बचत र चालु निक्षेपको अंश बढेको देखिन्छ। संस्थागत निक्षेपको हिस्सा भने ३५.३ प्रतिशतमा सीमित छ।

उता, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा समीक्षा अवधिमा १.९ प्रतिशतले बढेर ५५९९ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा कर्जा प्रवाह ३.५ प्रतिशतले बढेको थियो। वार्षिक आधारमा कर्जा वृद्धि ६.६ प्रतिशतमा सीमित रहेको छ।

कुल कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रले ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रले ३७.३ प्रतिशत हिस्सा ओगटेका छन्। कर्जा प्रवाहमा वाणिज्य बैंकको वृद्धि २.० प्रतिशत, विकास बैंकको ०.८ प्रतिशत र वित्त कम्पनीको १.२ प्रतिशत रहेको छ।

धितोको आधारमा हेर्दा, बैंकहरूको कर्जा लगानीमध्ये घरजग्गा धितोमा आधारित कर्जा ६४.४ प्रतिशत पुगेको छ भने चालु सम्पत्तिको सुरक्षणमा प्रवाहित कर्जा १४.९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको तुलनामा घरजग्गा धितोको हिस्सा केही घटेको छ।

क्षेत्रगत रूपमा निर्माण, उपभोग्य, यातायात–सञ्चार, औद्योगिक उत्पादन र सेवा क्षेत्रमा कर्जा बढ्दा कृषि तथा वित्त, बिमा र अचल सम्पत्ति क्षेत्रमा कर्जा घटेको छ। कर्जा प्रकारअनुसार हायर पर्चेज, मार्जिन, रियल स्टेट र क्यास क्रेडिट कर्जामा वृद्धि देखिएको छ भने अधिविकर्ष कर्जा ५.४ प्रतिशतले घटेको छ।