काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रिय सभाको उम्मेदवार छनोटप्रति आपत्ति जनाएका छन् । बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एकपक्षीय ढंगले उम्मेदवार छनोटको निर्णय गरेपछि थापाले आपत्ति जनाएका हुन् । उम्मेदवार छनोट गर्दा मुस्लिम, आदिवासी, जनजाति नपरेको भन्दै उनले आफूले यसको स्वामित्व नलिने पनि बताए ।
कांग्रेसले कोशी प्रदेशबाट सुनिल थापा, मधेशबाट धर्मेन्द्र पासवान र रञ्जीत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ। आठ सिट एमाले र एक सिट जसपा नेपाललाई दिने सहमति भएको छ ।
मंगलबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार छनोटको सम्पूर्ण अधिकार सभापति शेरबहादुर देउवालाई दिने निर्णय गर्न चाहेको थियो । तर, महामन्त्री थापाको विरोधका कारण बुधबार बिहान पुनः केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । उम्मेदवार छनोटको विधि, प्रक्रिया र प्रस्तावित नामहरुप्रति आपत्ति जनाउँदै उनले निर्णयमा फरक मतसमेत राखेका छन् ।
राष्ट्रियसभाको उम्मेदवार छनोटका लागि कार्यबाहक सभापति पूर्णबहादुर खड्काले तीन दिनदेखि निरन्तर बैठक राखे पनि नामका बारेमा छलफल नै नभएको उनको भनाइ छ । सभापति देउवा र नेता शेखर कोइरालाबीच महाराजगन्जमा भएको सहमतिअनुसार उम्मेदवार तय गरेर त्यसको अनुमोदनका लागि मात्रै केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखिएको थियो ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बसेर नामका बारेमा छलफल गर्नु अगाडि नै उम्मेदवारहरु तय गरेर मनोनयन गर्न जिल्ला–जिल्ला गइसकेका थिए । थापाले उम्मेदवार छनोटमा केन्द्रीय कार्यसम्पादन समिति, संसदीय बोर्ड, केन्द्रीय कार्यसमितिसहित जिल्ला र क्षेत्रलाईसमेत मानमर्दन गरिएको बताए । जिल्ला र क्षेत्रबाट सिफारिसमा नपरेका दुईजनालाई उम्मेदवार बनाइएको भन्दै थापाले महामन्त्रीहरुलाई मात्रै होइन, पार्टीका संरचना र निकायलाईसमेत हेप्ने काम भएको बताए ।
‘नाम प्रस्ताव गर्नका लागि बैठकमा आइयो । नाम प्रस्ताव गर्न बाँकी नै छ । उम्मेदवारहरु मनोनयन पत्र बोकेर जिल्ला जिल्ला गइसक्नु भएको रहेछ । महामन्त्रीहरुलाई हेप्ने, पेल्ने र कर्नरमा पार्ने त चलिरहेको थियो । सिंगो संसदीय बोर्ड र केन्द्रीय कार्यसमितिलाई मानमर्दन गरियो । यो हदसम्मको कार्य यसअघि थिएन । कम्तीमा नामहरुका बारेमा खुला छलफल गरेर टुंगाएका थियौं, अहिले त्यो पनि भएन । त्यसैले मैले लिखित फरक मत राखेको छु,’ थापाले भने ।






