वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलामा लगानी गर्न र त्यहाँ रहेका विशाल कच्चा तेल भण्डारको उपयोग गर्न पाउने घोषणा गरेका छन्। उनले शनिबार आयोजित पत्रकार सम्मेलनमा उक्त निर्णय सार्वजनिक गरेका हुन्।

यो घोषणा भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीपछि आएको हो। अमेरिकी सेनाले शनिबार बिहान राजधानी काराकासमा हवाई आक्रमण सञ्चालन गरेको थियो, जसपछि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर न्युयोर्क सहर लगिएको जनाइएको छ। उनीहरूमाथि लागूऔषध तस्करी तथा हतियारसम्बन्धी मुद्दा चलाइएको छ।

ADVERTISEMENT

पत्रकार सम्मेलनमा ट्रम्पले भने, “विश्वकै ठूला अमेरिकी तेल कम्पनीहरूले अरबौं डलर लगानी गरी भेनेजुएलाको तेल पूर्वाधार सुधार गर्नेछन्। यसबाट देशका लागि ठूलो आम्दानी सिर्जना हुनेछ।” तर उनले भेनेजुएलाको तेलमाथि लगाइएको प्रतिबन्ध भने पूर्ण रूपमा कायम रहने स्पष्ट पारे।

संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सन् २०१७ देखि आर्थिक प्रतिबन्ध र सन् २०१९ देखि तेलसम्बन्धी प्रतिबन्ध लगाउँदै आएको छ। हाल भेनेजुएलाले दैनिक १० लाख ब्यारेलभन्दा कम तेल उत्पादन गर्दै आएको छ, जसको ठूलो हिस्सा कालो बजारमा छुटसहित बिक्री हुने गरेको छ। ट्रम्पका अनुसार भेनेजुएलाले तेलबाट प्राप्त आम्दानी ‘ड्रग आतङ्कवाद, मानव तस्करी, हत्या र अपहरण’जस्ता गतिविधिमा खर्च गर्दै आएको छ।

ट्रम्पको दोस्रो कार्यकालको सुरुवातसँगै सन् २०२५ मा बहुराष्ट्रिय तेल कम्पनीहरूलाई भेनेजुएलामा सञ्चालन गर्न दिइएको अनुमति (लाइसेन्स) समाप्त गरिएको थियो। तर अमेरिकी कम्पनी चेभ्रोनलाई भने विशेष अनुमति दिइएको थियो। चेभ्रोनले भेनेजुएलाको राज्य स्वामित्वको तेल कम्पनी पीडीभीएसएसँग साझेदारीमा चार तेल क्षेत्र सञ्चालन गर्दै आएको छ।

यसैबीच, संयुक्त राज्यले प्रतिबन्धित ट्याङ्करहरूसँग भेनेजुएलाको व्यापारमा पनि पूर्ण रोक लगाएको छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार भेनेजुएलामा विश्वकै करिब १७ प्रतिशत तेल भण्डार रहेको छ। तर दीर्घकालीन व्यवस्थापन कमजोरी र भ्रष्टाचारका कारण देश प्रमुख तेल उत्पादकको रूपमा उभिन सकेको छैन।

विश्लेषकहरूका अनुसार भेनेजुएलाको तेल गुणस्तर कम रहेको र अधिकांश डीजल तथा अन्य उपउत्पादनका लागि प्रयोग हुने भएकाले अमेरिकाको गल्फ अफ मेक्सिको आसपासका रिफाइनरीहरू विशेष रूपमा यस तेल प्रशोधन गर्न डिजाइन गरिएका छन्।