काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पछिल्ला वर्षहरूमा सूचनाप्रविधि (आईसीटी) क्षेत्रले उल्लेख्य प्रगति गरेको उल्लेख गरेका छन् । उनले आइटी क्षेत्रलाई विश्व बजारमा विस्तार गर्न ढुक्क भएर अघि बढ्न आग्रह गरेका छन्।

राष्ट्र बैंकका पछिल्ला निर्णयले अब नेपाली कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा पखेटा फैलाउने आधार तयार भएको उनको भनाइ छ। गभर्नर पौडेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणाअनुसार, अर्थ मन्त्रालयले कम्पनी दर्ता सहज बनाउने, वैदेशिक लगानीको सीमा संशोधन गर्ने र कर प्रणालीलाई विश्वसनीय बनाउनेजस्ता सुधारको आंशिक परिणामस्वरूप आइटी क्षेत्रमा वैदेशिक लगानी तीव्र रूपमा बढेको छ।

दुई वर्षअघि करिब ४० वटा मात्र आइटी कम्पनी खुलेकोमा एक वर्षअघि मात्रै झन्डै ४०० कम्पनी खुलेका उनको भनाइ छ । राष्ट्र बैंक आएपछि ती सुधारलाई अझै अघि बढाइएको उल्लेख गर्दै उनले नेपाली निर्यातकर्ता कम्पनीहरूलाई विदेशमा एक मिलियन डलरसम्म लगानी गर्न अनुमति दिइएको जानकारी दिएका छन्।

निर्यात नगरेका कम्पनीहरूलाई समेत २० हजार डलरसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिएको छ। ‘राष्ट्र बैंक आएपछि नेपाली निर्यातकर्ता कम्पनीहरूलाई विदेशमा एक मिलियन डलरसम्म लगानी गर्न अनुमति दिइएको छ, र निर्यात नगरेका कम्पनीहरूलाई पनि २० हजार डलरसम्म लगानी गर्न दिइएको छ,’ उनले भनेका छन् ।

पौडेलका अनुसार वैदेशिक लगानीकर्ताले पेपरवर्क धेरै भएको गुनासो गरेपछि नाफा विदेश लैजान राष्ट्र बैंकको स्वीकृति लिन नपर्ने व्यवस्था गरिएको छ। यसले लगानी वातावरण थप सहज बनाएको उनको दाबी छ। ‘नतिजा हेरेर यी सीमाहरू क्रमशः संशोधन गर्दै जानेछौं भन्नेमा सबैलाई विश्वास दिलाउन चाहन्छु,’ उनले भनेका छन्, ‘ढुक्क भएर नयाँ प्रोडक्ट निकाल्नुस्, विश्व बजारमा आँखा लगाउनुस्। पखेटा फैलाउनुस्, मेहनत गर्नुस्—नेपालबाटै जित्नलाई संसार हुनेछ ।’