इटहरी। भारतबाट चोरी गरी नेपाल ल्याई नक्कली नम्बर प्लेट प्रयोग गरेर सञ्चालनमा रहेका पाँचवटा बोलेरो गाडी कोशी प्रदेश ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

ट्राफिक प्रहरी कार्यालय इटहरीले आज पत्रकार सम्मेलन गरी नियमित जाँच तथा अभिलेख परीक्षणका क्रममा इन्जिन नम्बर परिवर्तन, रि–पञ्च गरिएको, रङ परिवर्तन, दर्ता अभिलेख नपुगेको तथा नक्कली नम्बर प्लेट प्रयोग गरिएका ती गाडीहरू नियन्त्रणमा लिइएको जनाएको छ।

ADVERTISEMENT

कोशी प्रदेश ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार, नियन्त्रणमा लिइएका गाडीहरूमा को १ ज ११११, ना २ च ७२९५, ना १ ज १५८३, ना ३च ३९२८ र ग १ च ६६८४ नम्बरका बोलेरोहरू छन्। यी गाडीहरूमा इन्जिन तथा चेसिस नम्बरमा व्यापक हेरफेर गरिएको, दर्ता किताब नमिलेको र आयात अभिलेख नभेटिएको पाइएको छ।

ADVERTISEMENT

उदाहरणका लागि, को १ ज ११११ नम्बरको गाडीको दर्ता किताबमा उल्लेखित इन्जिन नम्बर फरक भेटिएको तथा चेसिस नम्बर एमएआइएनभी २ एएफए ४२ ए १०६३३ रहेको पाइएको छ। अन्य गाडीहरूमा पनि कम्पनीबाट आयात नभएको वा यातायात कार्यालयको अभिलेखमा नभेटिएको विवरणहरू खुलेका छन्।

यी सबै सवारीसाधन चोरी पैठारी तथा नक्कली नम्बर प्लेट प्रयोगसँग सम्बन्धित हुनसक्ने आशंकामा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको उपरीक्षक गिरीले बताए।