काठमाडौं । जाँचबुझ आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका सीडीओ छविलाल रिजालको स्थानहद फुकुवा गरेको छ ।

आयोगका उपसचिव कमलप्रसाद पाण्डेले मंगलबार पठाएको पत्रमा उनीहरूको स्थानहद फुकुवा गरिएको र विदेश भ्रमण गर्नसमेत पाउने उल्लेख छ। उनीहरूको बयान सकिएकाले स्थानहद फुकुवा गरिएको हो ।

ADVERTISEMENT

‘भदौ २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्व महानिरिक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने पूर्व निर्णयउपरको कार्य सम्पन्न भइसकेकोले निजको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने भनी यस आयोगबाट निर्णय भएकोले सोहि व्यहोरा निर्णयानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ ।

यसअघि गुप्तचरका तत्कालीन प्रमुख हुतराज थापाको बयान सकिएपछि उनको पनि स्थानहद फुकुवा गरिएको थियो । गौरीबहादुर कार्की नेतृत्वको आयोगले बयान लिनका लागि उनीहरूको स्थानहद तोक्न सरकारलाई सिफारिस गरेको थियो । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा छानबिन गर्नुपर्ने भन्दै उनीहरूलाई स्थानहद तोकिएको थियो । सोही कारण बयान नसकिएसम्म उनीहरूले उपत्यका छाड्न पाएका थिएनन् ।

आयोगले मंगलबार मात्रै पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ । उनलाई पनि स्थान हद तोकिएको छ । यसपछि एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग बयान लिने आयोगको तयारी छ ।