कैलाली । लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी संस्थानको विभिन्न व्यक्तिगत र सार्वजनिक संस्थाबाट उठाउन बाँकी बक्यौता रकम दुुई करोड बढी रहेको छ ।
कार्यालयका लेखा शाखा प्रमुख पङ्कजकुमार दासका अनुसार विगत लामो समयदेखि आर्थिक वर्ष २०८१/८२ सम्म निजी र सार्वजनिक ग्राहकबाट उठाउन बाँकी रहेको रकम दुुई करोड ३१ लाख २४ हजार २५० रहेको छ । निजी ९८५ र सरकारी ४४ गरी एक हजार २९ खानेपानीको सेवा लिएका ग्राहकबाट सो बक्यौता रकम उठाउँन बाँकी रहेको लेखा शाखा प्रमुख दासले बताए ।
त्यसमध्ये सरकारी कार्यालयबाट उठाउन बाँकी रकम रु ३२ लाख रहेको छ । खानेपानी संस्थान धनगढीले धनगढी उपमहानगरपालिकाभित्रका वडा नं १, २, ३ ,४, ५, ६, ८, ९, १०, ११, १२, १३, १४, १७ र १९ मा आफ्नो सेवा विस्तार गरी खानेपानी वितरण गर्दै आएको छ । केही वडामा भने चालु आर्थिक वर्षबाट खानेपानी वितरणको प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
वि.सं २०४६ मा स्थापना भएको नेपाल खानेपानी संस्थान धनगढीले यहाँका आम उपभोक्तालाई दैनिक १८ देखि २० घण्टामा १५ लाख एमएलडी (लिटर) जति पानी वितरण गर्ने गरेको कार्यालयको खानेपानी वितरण शाखाले जनाएको छ । खानेपानी संस्थान, धनगढीका हाल १० हजार ४५० सेवाग्राही रहेका छन् । संस्थानले खानेपानी उपभोग गरेबापत मासिक रुपमा न्यूनतम शुल्क ११० सेवा शुल्क लिँदै आएको छ ।






