काठमाडौं , प्राइम कमर्सियल बैंकले संस्थापक नारायणदास मानन्धरको निधनले नेपालको आर्थिक क्षेत्रले अपूरणीय क्षति बेहोर्नुपरेको जनाएको छ । प्राइम बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत मानन्धरको ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो ।
‘नेपालको आर्थिक तथा बैंकिङ इतिहासमा उहाँ जतिको दीर्घ सेवाका साथ यति महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने व्यक्तित्व विरलै हुनुहुन्छ । उहाँको देहावसानबाट नेपालको आर्थिक जगतले एक नक्षत्र गुमाई अपूरणीय क्षति व्यहोर्नु परेको छ,’ प्राइम बैंकले जारी गरेको शोक सन्देशमा भनिएको छ । बैंकले यस्तो दुःखद अवस्थामा आफन्त तथा परिवारजनमा समवेदना प्रकटसमेत गरेको छ ।
सन् १९६९ मा भूमिसुधार तथा बचत निगमको शाखा प्रमुखको रूपमा सेवा प्रवेश गरेका मानन्धर राष्ट्रिय धानचामल कारखानाको प्रमुख कार्यकारी, कृषि विकास बैंकको प्रथम श्रेणीको विभागीय प्रमुख र पछि नायब महाप्रबन्धक, धानचामल निर्यात कम्पनीको महाप्रबन्धक, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनमा परामर्शदाता, राष्ट्रिय वाणिज्य बैंकको कार्यकारी सञ्चालक, लुम्बिनी बैंकको प्रमुख कार्यकारी अधिकृत, विश्व बैंकको जलविद्युत विकास कोष र नेपाल बंगलादेश बैंक हुँदै प्राइम कमर्सियलको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएका थिए । उनकै नेतृत्वमा प्राइम कमर्सिलय बैंक स्थापना भएको थियो ।
प्राइम बैंकलाई छोटो समयमै समकालीन बैंकको तुलनामा नयाँ उचाइमा पुर्याउने उनले योगदान दिएका थिए । मानन्धर इमानदार, कर्तब्यनिष्ठ, विशिष्ट ज्ञान, क्षमता र दूरदृष्टि भएका बैंकरको रुपमा चिनिन्थे ।








