काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात् आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइएको छ ।
मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा र नेवार समुदायले योमरी बनाएर चढाउने परम्परा छ ।
नयाँ धान भित्र्याएको खुसियालीमा उपत्यकालगायत देशभरका नेवार समुदायले योस्मरि पूर्णिमा पर्वका साथै राष्ट्रिय ज्यापु दिवस हर्षोल्लासका साथ मनाएका छन् ।
यस वर्षको योस्मरि पूर्णिमा एबं राष्ट्रिय ज्यापु दिवसको र्याली काठमाडौं महानगरपालिका–५ हाँडीगाउँबाट निकालिएको छ । र्याली हाँडिगाउँ बाट सुरु हुँदै टंगाल गणेश, नक्साल भगवती मन्दिर, प्यगंःथा, नागपोखरी, नारायणहिटी, केशरमहल, ठँबही त्रिदेवी चोक, ज्याठा,त्यःर, असं, बालकुमारी, केलत्वाः, वंघः, मरुत्वा, कालभैरव, हनुमान ध्वाका हुँदै बसन्तपुरमा समाप्त हुने आयोजकले जानकारी दिएको छ ।
योःमरि पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । काठमाडौं उपत्यकाका नेवार समुदायअन्तर्गतका ज्यापुहरुले एकसाथ योमरी पुन्ही र राष्ट्रिय ज्यापु दिवस मनाएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी










