काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड र आगजनी गरिएको थियो । मन्त्री अर्यालले राष्ट्रपति पौडेलको परिवारसँग सल्लाह गरेर क्षतिग्रस्त घरको मर्मत सम्भार गर्ने वचन दिए ।

त्यस अवसरमा मन्त्री अर्यालसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याललगायतको उपस्थिति थियो ।

गृहमन्त्रीसहित दुई आइजीले बालाजु प्रहरी वृत्तको पनि निरीक्षण गरे। जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्तको स्थानीयको सहकार्यमा पुनःनिर्माण सुरु भएको छ । यद्यपि त्यहाँका प्रहरी प्रमुखले जग्गा स्वामित्वमा नभएको विषय गृहमन्त्री अर्यालसमक्ष राखेका थिए ।