काठमाडौं । जेनजी आन्दोलनअघि दुर्गा प्रसाई समूह दल र मारवाडी व्यापारीसँग आक्रोशित थियो । जलाउने, ध्वस्त बनाउने धम्की दिन्थे । जेनजी आन्दोलनपछि बनेको सरकारमा हाबी भएको भन्दै दुर्गा प्रसाईको निसानामा एनजिओ र आइएनजिओ पर्ने भएका छन् । प्रसाईंले राष्ट्र र राष्ट्रियताप्रति खतरनाक गतिविधिमा संलग्न एनजिओ र आइएनजिओहरूको भण्डाफोर गर्दै जनतालाई सचेत गर्ने बताएका छन् ।
भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मलेन गर्दै प्रसाईले भिडियो सावर्जनिक गरेका छन् । जसमा उनले भनेका छन् कि विभिन्न एनजिओ र आइएनजिओहरूले विदेशी फन्डिङको प्रयोग गर्दै समाजमा भ्रम, विभाजन र भ्रष्टाचारको बीजारोपण गरिरहेको छन् । उनले जेनजी आन्दोलन र अन्य राजनीतिक गतिविधिहरूमा यस किसिमको हस्तक्षेप भएको दावी गर्दै, युवाहरूलाई भ्रमित बनाइएको उल्लेख गरेका छन् ।
यसअघि ०१४ सालमा नेपाली कांग्रेस पार्टीको उदय भएदेखि २०७२ सालसम्म भएका राजनीतिक घटनाक्रम, पार्टी उदय र संविधान निर्माण प्रक्रिया पनि उनले प्रकाशमा ल्याएका छन् । उनले डा.गोविन्द केसीको अनशन, विवेकशील पार्टी, उज्ज्वल थापा फाउन्डेसन, एनइडी तथा बारबरा फाउन्डेसनको भूमिका सार्वजनिक गर्दै वर्तमान सरकारमा विदेशी प्रभाव रहेको आरोप लगाएका छन् ।
प्रसाईले सबै नेपाली नागरिकलाई राष्ट्रियता जोगाउने, देशप्रेम र जागरुकतासँग अगाडि बढ्न अपिल गर्दै भनेका छन् । यदि यस गिरोहले आत्मसमर्पण नगरेमा आगामी भिडियोमा थप कडा भण्डाफोर हुने र उनले यो अभियानमार्फत नेपाली भूमिको संरक्षण र राष्ट्रियतामूलक सरकारको स्थापना गर्न लक्ष्य राखेको बताएका छन् ।
जेनजी आन्दोलनमा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, ठूला दलका पार्टी कार्यालय, प्रहरी कार्यालय, उद्योगीका घर र उद्योग, होटल जलाएर खरानी बनाइएको थियो । आन्दोलन जेनजीको नाममा भए पनि घुसपैठ विभिन्न दल र समूहले गरेका थिए । जसमा माओवादी, रास्वपा, राप्रपा, दुर्गा प्रसाई समूहको संलग्नता पुष्टि भइसकेको छ । एमाले र कांग्रेसकै कार्यकर्ता पनि तोडफोड र आगजनीमा सामेल भएका छन् ।






