काठमाडौँ । उपत्यकासहित देशका मध्य क्षेत्रका केही ठाउँमा वर्षा भैरहेको छ । पूर्व र पश्चिमका धेरै ठाउँमा भने गएरातिदेखि नै मौसममा क्रमिक सुधार हुन थालेको छ ।

काठमाण्डौ र मध्य क्षेत्रमा पनि दिउँसोदेखि मौसममा क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हिजोजस्तो ठूलो पानी पर्ने सम्भावना छैन ।

ADVERTISEMENT

दिउँसोसम्म काठमाण्डौ र मध्य भेगका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहने र त्यसपछि मौसममा क्रमिक सुधार हुने उहाँको भनाइ छ । दिउँसोपछि मौसममा क्रमिक सुधार भए पनि आज घाम लाग्ने सम्भावना कम छ ।

भोलिदेखि पश्चिम र मध्य भेगका धेरै ठाउँमा घाम लाग्ने र त्यसपछि मौसम घमाइलो हुने मौसमविदले बनाएका छन् । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभाव घट्न थालेपछि मौसममा क्रमिक सुधार भैरहेको छ ।

ADVERTISEMENT

पश्चिमी वायू, अरब सागरमा विकसित प्रणाली र मोन्था चक्रवातको समेत प्रभावले केही दिनयता वर्षा र हिमपात भैरहेकोमा गएरातिदेखि क्रमिक सुधार हुन थालेको हो ।

हिजो पूर्वी भेगका केही ठाउँमा ठूलो वर्षा भए पनि गएराति सामान्य वर्षा मात्रै भएको छ । र आज कोशी प्रदेशका थोरै ठाउँहरुमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।