काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीसहित पाँचजनाको राहदानी (पासपोर्ट) रोक्काविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ता प्रेमराज सिलवालले ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान आयोगका प्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको राहदानी रोक्का र स्थान हद तोकेकोविरुद्ध मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

ADVERTISEMENT

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पाँचजनाको राहदानी रोक्का र स्थान हदको निर्णय गरेको थियो।

आयोगको निर्णय गैरकानुनी भएको, सम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन् भएको भन्दै रिट दायर भएको छ। रिटमा उक्त निर्णय खारेज गरी अबदेखि कसैलाई पनि रोक नलगाउन, नगर्न भन्ने परमादेश र उपयुक्त आदेश माग गरिएको छ।

आयोगको निर्णयलाई नमान्ने एमाले अध्यक्ष ओलीले चेतावनी दिँदै आएका छन् । उनले आफू पार्टी कार्यक्रमका लागि विभिन्न जिल्लामा जाने र सके पक्राउ गरेर देखाउने सरकारलाई चेतावनी दिएका छन् ।

आयोगका अध्यक्ष कार्कीलाई काममा नलगाउन भन्दै अदालतमा रिटसमेत परिसकेको छ । कार्कीले पहिल्यै सामाजिक सञ्जालमा लेखेर एउटा निष्कर्ष निकालेकाले उनलाई पदमुक्त गरिन माग गरिएको छ ।