काठमाडौँ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै मुस्ताङमा १५ मिलिमिटर पानी परेको छ ।
मनाङमा १४.२ मिलिमिटर पानी परेको छ । म्याग्दी, डोल्पा, रोल्पा, सल्यान, सुर्खेत, जुम्ला, कैलाली, बाँके लगायतका जिल्लाहरुमा पनि हल्का पानी परेको छ ।
आज गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक\दुई ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको छ ।
पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण गएरातिदेखि वर्षा र हिमपात भएको हो ।
शुक्रवारसम्म नै वर्षा र हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
यसैबीच मुस्ताङ प्रशासनले जिल्लाका पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गरेको छ । मुस्ताङका उच्च हिमाली क्षेत्रको मुस्ताङ–डोल्पा याकखर्क क्षेत्र, मनाङ–मुस्ताङ थोरङ्लापास, मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिकलगायतका क्षेत्रहरुमा हिमपात हुन सक्ने भन्दै प्रशासनले पदयात्रा नगर्न भनेको हो ।
पर्यटक तथा तीर्थयात्रीहरुलाई मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्न समेत प्रशासनले अनुरोध गरेको छ ।








