काठमाडौं । सञ्चार उद्यमीसमेत रहेका क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा आधारित ‘क्याप्टेन साब’ चलचित्र बन्ने भएको छ । ‘क्याप्टेन साब’को बिहीबार गौरीघाटमा शुभमुहूर्त गरिएको छ । चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गर्नेछन् ।

‘क्याप्टेन साब’ को मुहूर्त सटमा व्यवसायी डा. उपेन्द्र महतो कल्याप र क्याप्टेन थापाले निर्देशन गर्दै सुरुवात गरिएको थियो । पटकथा प्रडक्सनको दोस्रो प्रस्तुति रहेको चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् ।

कृष्णबहादुर थापा छायाकार रहेको चलचित्रको छायांकन काठमाडौंसँगै चितवन र काभ्रेका विभिन्न स्थानमा हुनेछ । यो चलचित्र भदौको पहिलो साताबााट छायांकनमा जानेछ ।

‘क्याप्टेन साब एक फरक खालको चलचित्र हुनेछ । क्याप्टेन रामेश्वर थापाको जीवनका उतारचढावसँगै सिनेम्याटिक लिबर्टी लिएर फुल इन्टरटेनमेन्ट चलचित्र बनाउने छौँ,’ निर्देशक खनालले भने, ‘क्याप्टेनले आकाशमा भोग्ने समस्या, स्थानीयस्तरमा पाउने सम्मान, व्यावसायमा जोडिन आउने विभिन्न तहका व्यक्तिलगायत पक्ष समेट्ला आफैँमा गज्जवको चलचित्र बन्ने हाम्रो विश्वास छ ।’

खनालले यसअघि सर्लाहीको बागमती नगरपालिका प्रमुख भरतकुमार थापाको जीवनीमा आधारित ‘मेयर’ चलचित्र बनाएका थिए । थापामाथि भ्रष्टाचार मुद्दा दायर भएपछि ‘मेयर’ चलचित्र अलपत्र परेको छ ।