काठमाडौं । पूर्वसभामुख एवं माओवादी नेता कृष्ण बहादुर महराविरुद्ध सरकारी वकिलले जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र पेस गरेको छ । भेपमा लुकाएर ल्याएको सुनबारेको अभियोगपत्र जिल्ला अदालतमा पेस गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार महरालाई पक्राउ गरेको थियो ।

ADVERTISEMENT

२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङले इलेक्ट्रिक चुरोट भेपमा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी कायम गरिएको छ । उनीमाथि तीन कसुर दाबी गर्दै दर्ता गरिएको अभियोग पत्रमा महरासँग आठ करोड ५५ लाख २८ हजार बराबरको बिगो दावी गरिएको छ । उनको थुनछेक बहस भोलि हुने छ ।

ADVERTISEMENT

सो प्रकरणमा सुनको तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनस् मुद्दा चलाउन सिफारिस गरेको थियो । भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग कनेक्सन देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई संगठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले महरालाई पनि अदालतमा उपस्थित गराएको छ । महराले यसअघिको बयानमा चिनियाँ सुन तस्कर वाङसँग चिनजान रहेको स्विकारेका छन् । चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको ७३० वटा भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेपछि महरा र उनको पुत्र राहुलले छुटाउन भूमिका खेलेका हुन् । राहुल यसअघि पक्राउ परेका थिए ।

भेपमार्फत ल्याइएको नौ किलो अवैध सुन आठ करोड ५५ लाख मूल्य बराबरको भएको प्रहरीको दाबी छ ।