काठमाडौँ । बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध भएका छन् ।

पृथ्वी लोकमार्गको जवाङखोलामा पहिरो खस्दा यो लोकमार्ग पूर्णरुपमा बन्द भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नारायणगढ–मुग्लिन सडक पनि पहिरोले प्रभावित भएको छ । यद्यपि यो बाटो एकतर्फी सञ्चालनमा छ ।

ADVERTISEMENT

काभ्रेको बिपी र अरनिको राजमार्गमा दुवैतर्फी सवारीसाधन अनिश्चित समयका लागि होल्ड गरिएको छ ।

ADVERTISEMENT

रसुवाको पासाङल्हामु सडक पनि अवरुद्ध भएको छ । सङ्खुवासभाको वरुणखोलास्थित कोशी राजमार्ग र खाँदबारीदेखि किमाथाङ्का तथा थुमसुर जाने कोशी राजमार्गमा पनि सवारीसाधन सञ्चालन भएका छैनन् ।

ओखलढुंगाको सिद्धिचरण लोकमार्ग, मकवानपुरको महालक्ष्मी खोलास्थित फाखेल–हुमाने–काठमाडौं सडक पनि अवरुद्ध भएको छ ।

कान्ति लोकपथ र कुलेखानी सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक बन्द छ । मदन भण्डारी राजमार्ग सिन्धुलीको सिन्दुरे दोभानमा अवरुद्ध छ । कोशी लोकमार्गअन्तर्गत साँघुरीगढी गाउँपालिकाको चनौटे र सिमसुवामा बाटो अवरुद्ध भएको छ ।