तातोपानी । नेपाल र चीनबीचको प्रमुख व्यापारिक मार्ग बाह्रविसे-तातोपानी सडक खण्डमा वर्षौंदेखि स्थानीय र व्यापारीहरूले सास्ती भोग्दै आउनु परेको छ ।
देशकै प्रमुख व्यापारिक मार्गको रूपमा रहेको सो सडकको विभिन्न क्षेत्रमा पहिरो खस्दा करोडौंका मालसामान सीमा क्षेत्रमा रोकिएका छन् ।
२०७२ को भूकम्प र कोरोना महामारीपछि बन्दको अवस्थामा रहेको सो नाका रसुवाको केरुङ नाका बाढीले क्षति पुर्याएसँगै पुन लयमा फर्किए पनि कोदारी पहिरो, दाकलाङलगायत विभिन्न क्षेत्रमा गएको पहिरोमा कारण निर्धक्क रुपमा यात्रा गर्न सकिने अवस्था भने छैन ।
प्रमुख व्यापारी मार्ग भए पनि नेपाल सरकारबाट आवश्यक बजेट विनियोजन नहुँदा हरेक वर्ष पहिरो झेल्नु परेको स्थानीयहरू बताउँछन् ।
भोटेकोशी गाउँपालिकामा–२ चौकीडाँडाका स्थानीय कृष्णबहादुर राईका अनुसार कोदारी पहिरोले हरेक वर्ष असार, साउन र भदौ महिना दुःख दिने गरेको छ । हिउँदको समयमा पहिरो रोकथामका लागि स्थानीय सरकार, संघ र प्रदेश सरकारले खासै ध्यान नदिएको कारण अहिले सुख भोग्नु परेको उनले बताए ।
सो पहिरोले सडक मात्र नभएर तीन सय जति घरधुरीसमेत जोखिम रहेको उनले जानकारी दिए । स्थानीयले हरेकपटक पहिरो रोकथाम र बाटो मर्मतका लागि माग राखे पनि कहींकतैबाट सुनुवाइ नभएको राईले जानकारी दिए ।
स्थानीय अर्जुन धतानेका अनुसार कोदारी पहिरो २०३८ बाटै सुरु भए पनि हालसम्म प्रभावकारी रूपमा नियन्त्रणको काम भएको छैन । मुख्य नाका भएकाले सरकारले यसको रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने भए पनि हालसम्म त्यस्तो केही नगरेको उनको भनाइ छ ।
हरेक वर्ष पहिरोले बाटो बन्द हुने अवस्था छ, तैपनि स्थानीय, प्रदेश र संघीय सरकारले नहेरेको उनको गुनासो छ । हाल अस्थायी रुपमा पहिरो नियन्त्रण, रोकथाम र सहज रुपमा सडक सञ्चालनका लागि ग्राभेल हाल्ने, पानीका मुहानलाई ट्रयाप गरी सेफ ठाउँमा पठाउने र ढुंगा बिछ्याउने काम भइरहेको सडक डिभिजन चरिकोटका सबइन्जिनियर रामकृष्ण रिमालले जानकारी दिए ।
धेरै पुरानो पहिरो भएका कारण तत्कालै नियन्त्रण गर्न नसके पनि अहिले अस्थायी रुपमा सडक सञ्चालन र पहिरो रोकथामको काम भइरहेको उनको भनाइ छ ।








