काठमाडौं । सरकारले संघीय संसद्को आगामी अधिवेशन छिट्टै आह्वान गर्ने तयारी गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अधिवेशन बोलाउने विषयमा छलफल भइरहेको र सरकारले चाँडै अधिवेशन आह्वान गर्ने लक्ष्य राखेको बताएकी छन् ।

ADVERTISEMENT

मन्त्री गौतमका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह यसै साता भारत भ्रमणमा जाने कार्यक्रम रहेकाले संसद् अधिवेशन आह्वानको मिति तत्कालै निश्चित हुन नसकेको हो ।

ADVERTISEMENT

सरकारले आगामी अधिवेशनलाई लक्षित गर्दै विद्यमान कानुनको समीक्षा, कानुन संशोधन, नयाँ कानुन निर्माण तथा आवश्यक अध्यादेशबारे गृहकार्य अघि बढाएको छ ।

‘संसद् अधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल गर्दै छौँ । छिट्टै बोलाउने लक्ष्य हो,’ गौतमले भनिन्, ‘अहिले कानुनहरूको समीक्षा पनि भइरहेको छ । यो हप्तामै के–के गर्नुपर्ने हो भन्ने स्पष्ट हुन्छ।’

सरकारले घोषणा गरेको ‘कानुन निर्माण तथा सुधार वर्ष’ अन्तर्गत विद्यमान कानुनको समीक्षा, नयाँ कानुन निर्माण तथा आवश्यक कानुन संशोधन र एकीकरणलाई प्राथमिकतामा राखेको छ ।

यसका लागि गठित सुधार समितिको प्रत्येक १५ दिनमा बैठक बस्ने गरेको मन्त्री गौतमले जानकारी दिइन् । उनका अनुसार सबै मन्त्रालयबाट कानुन निर्माण तथा सुधारसम्बन्धी प्रगति विवरणसमेत प्राप्त भइरहेको छ ।

सरकारले सम्बन्धित मन्त्रालयहरूसँगको छलफलका आधारमा एक वर्षभित्र १६६ वटा कानुन निर्माण तथा सुधार गर्ने लक्ष्य निर्धारण गरेको छ ।

दशैँअघि संसद्मा दर्ता भएका विधेयकहरूको प्रगति हेर्दा निर्धारित लक्ष्य हासिल गर्न सकिने विश्वास बढेको पनि मन्त्री गौतमले बताएकी छन् ।