काठमाडौं । नेपाल राष्ट्र बैंकको खुद नाफा गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। विदेशी विनिमय सञ्चितिमा भएको वृद्धिसँगै त्यसबाट प्राप्त ब्याज आम्दानी बढेपछि केन्द्रीय बैंकको नाफामा सुधार आएको हो।

राष्ट्र बैंकले गत आर्थिक वर्षमा ८३ अर्ब ५६ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३.८४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा केन्द्रीय बैंकको खुद नाफा ८० अर्ब ४८ करोड रुपैयाँ थियो।

ADVERTISEMENT

गत आर्थिक वर्षमा विदेशी मुद्राबाट प्राप्त खुद ब्याज आम्दानी १ खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २३ प्रतिशत बढी हो। अघिल्लो वर्ष यस्तो आम्दानी ९४ अर्ब ८१ करोड रुपैयाँ थियो।

ADVERTISEMENT

रेमिट्यान्स र आयातमा भएको सुधारसँगै विदेशी विनिमय सञ्चिति बढ्दै जाँदा त्यसबाट प्राप्त ब्याज आम्दानीमा वृद्धि भएको हो। २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशतले बढेर २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।

तर, वित्तीय प्रणालीमा अधिक तरलता कायम रहँदा स्वदेशी मुद्राबाट हुने ब्याज आम्दानी भने घटेको छ। गत आर्थिक वर्षमा स्वदेशी मुद्रामा खुद ब्याज आम्दानी २२ अर्ब रुपैयाँले नकारात्मक रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नोक्सानी ७ अर्ब ७६ करोड रुपैयाँ थियो।

यसैगरी, सुनचाँदीको मूल्यमा आएको परिवर्तनबाट राष्ट्र बैंकले ७१ अर्ब ७१ करोड रुपैयाँ लाभ प्राप्त गरेको छ। विदेशी विनिमय दरमा भएको उतारचढावबाट २ खर्ब ५४ अर्ब ८३ करोड रुपैयाँ लाभ भएको केन्द्रीय बैंकले जनाएको छ।

यद्यपि, सुनचाँदी र विदेशी विनिमयको मूल्यमा भएको परिवर्तनबाट देखिएको यस्तो लाभ नगदमा प्राप्त भइसकेको नाफा होइन। यो सम्पत्ति तथा त्यसको मूल्यांकनमा आएको परिवर्तनका आधारमा गणना गरिएको लाभ हो।

राष्ट्र बैंकले खुद नाफाबाट कानुनअनुसार मौद्रिक सञ्चिति दायित्व, वित्तीय स्थायित्व दायित्व सञ्चिति, खुला बजार स्थिरीकरण कोष, बैंकिङ विकास कोष र सुन प्रतिस्थापन कोषलगायतमा रकम छुट्याउनुपर्ने हुन्छ। यी कोषमा रकम राखेपछि बाँकी रहेको ४२ अर्ब रुपैयाँ सरकारलाई हस्तान्तरण गर्ने निर्णय केन्द्रीय बैंक सञ्चालक समितिले गरेको छ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सरकारलाई ४२ अर्ब रुपैयाँ दिने निर्णय गरेको हो। अघिल्लो आर्थिक वर्षमा पनि राष्ट्र बैंकले सरकारलाई ४२ अर्ब रुपैयाँ नै हस्तान्तरण गरेको थियो।

विदेशी विनिमय सञ्चितिले २३ महिनाको आयात धान्ने

राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। उक्त सञ्चितिले २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ।

गत आर्थिक वर्षमा कुल वस्तु निर्यात १३.८ प्रतिशतले बढेर ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, वस्तु आयात १६.२ प्रतिशतले वृद्धि भई २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।

यस अवधिमा चालु खाता ९ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँ र शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोड रुपैयाँ बचतमा रहेको छ।

वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.०८ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति ४.०६ प्रतिशत थियो।

सरकारी राजस्वभन्दा खर्च बढी

गत आर्थिक वर्षमा नेपाल सरकारले अन्य प्राप्तिसमेत गरी १२ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। सोही अवधिमा कुल सरकारी खर्च भने १५ खर्ब ८२ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।

यस अवधिमा विस्तृत मुद्राप्रदाय १३.४ प्रतिशत र संकुचित मुद्राप्रदाय १७.९ प्रतिशतले बढेको छ। कुल आन्तरिक कर्जा २.१ प्रतिशत तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८३ असार मसान्तसम्म ३ खर्ब ६९ अर्ब ५५ करोड रुपैयाँ बराबरको कर्जा र १८ खर्ब ५७ अर्ब १७ करोड रुपैयाँ बराबरको निक्षेप सुरक्षण गरेको छ।

कर्जा सूचना केन्द्रमा असार मसान्तसम्म कालोसूचीमा सूचीकृत ऋणीको संख्या १ लाख ७० हजार ७९३ पुगेको छ। गत आर्थिक वर्षमा विभिन्न बैंक तथा वित्तीय संस्था र हायर पर्चेज कम्पनीले केन्द्रबाट ६७ लाख ४ हजार ३५० वटा कर्जासम्बन्धी सूचना माग गरेका थिए।

यसैगरी, राष्ट्र बैंकले गत आर्थिक वर्षमा ४६ अर्ब १० करोड १५ लाख रुपैयाँ बराबरका ८ करोड ४२ लाख ५० हजार थान नयाँ नोट चलनचल्तीमा पठाएको छ। २०८३ असार मसान्तसम्म चलनचल्तीमा रहेका कुल नोटको मूल्य ८ खर्ब ७ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।

केन्द्रीय बैंकको वित्तीय अवस्था विवरणअनुसार २०८३ असार मसान्तमा सम्पत्ति तथा दायित्व ३८ खर्ब ७४ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको असार मसान्तको तुलनामा ४५.०६ प्रतिशत बढी हो।