काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले अन्तर्राष्ट्रिय प्रकाशन ग्लोबल फाइनान्स को ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२६’ मा ‘बी’ ग्रेड पाएका छन्। सन् २०२५ जुलाई १ देखि २०२६ जुन ३० सम्मको कार्यसम्पादन मूल्यांकनका आधारमा सार्वजनिक गरिएको रिपोर्ट कार्डमा पौडेललाई उक्त ग्रेड दिइएको हो।

ग्लोबल फाइनान्सले प्रत्येक वर्ष विश्वका प्रमुख केन्द्रीय बैंकका गभर्नरहरूको कार्यसम्पादन मूल्यांकन गर्दै ए प्लसदेखि एफसम्मको ग्रेड प्रदान गर्छ। यस मूल्यांकनमा मौद्रिक नीति, वित्तीय प्रणालीको सुपरिवेक्षण, सम्पत्ति खरिद तथा बिक्री कार्यक्रम, आर्थिक प्रक्षेपण, नीतिगत सञ्चार, पारदर्शिता, राजनीतिक स्वतन्त्रता र केन्द्रीय बैंकले आफ्नो राष्ट्रिय उद्देश्य हासिल गर्न गरेको प्रगति समेटिन्छ।

ADVERTISEMENT

पौडेलले सन् २०२५ मेदेखि नेपाल राष्ट्र बैंकको नेतृत्व सम्हाल्दै आएका छन्। उनको कार्यकालको सुरुवाती अवधिमा नेपालको बाह्य आर्थिक अवस्थामा उल्लेखनीय सुधार देखिएको छ। वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति सन् २०२६ जुनमा २४ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको थियो। उक्त सञ्चितिले करिब १९ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था बनेको रिपोर्टमा उल्लेख छ।

ADVERTISEMENT

मुद्रास्फीति पनि कार्यकालको अधिकांश अवधिमा न्यून रह्यो। केही समय १ देखि १.५ प्रतिशतसम्म झरेको मुद्रास्फीति पछि बढेर करिब ५ प्रतिशत पुगेको थियो। यसले राष्ट्र बैंकलाई तुलनात्मक रूपमा लचिलो मौद्रिक नीति अपनाउन सहज बनाएको देखिन्छ।

राष्ट्र बैंकले नीतिगत दर घटाएर ४.२५ प्रतिशत र बैंक दर ५.७५ प्रतिशत कायम गरेको छ। यस अवधिमा आर्थिक वर्ष २०२५/२६ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ।

तर बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिक अर्थतन्त्रमा कर्जा विस्तार अपेक्षाअनुसार हुन सकेको छैन। ब्याजदर ऐतिहासिक रूपमा न्यून रहेको र बैंकिङ प्रणालीमा एक खर्ब रुपैयाँभन्दा बढी तरलता उपलब्ध हुँदासमेत निजी क्षेत्रतर्फको कर्जा वृद्धि वार्षिक रूपमा ५ देखि ७ प्रतिशतमा सीमित रहेको छ। यो राष्ट्र बैंकले राखेको १२ प्रतिशतको लक्ष्यभन्दा निकै कम हो।

यसले बैंकिङ प्रणालीमा पर्याप्त तरलता उपलब्ध भए पनि निजी क्षेत्रबाट कर्जाको माग कमजोर रहेको चुनौती देखाउँछ। उपलब्ध स्रोतलाई उत्पादन, लगानी र आर्थिक गतिविधिमा रूपान्तरण गर्नु राष्ट्र बैंकका लागि आगामी दिनको महत्त्वपूर्ण चुनौती हुनेछ।

ग्लोबल फाइनान्सको रिपोर्टले पौडेलसामु वित्तीय क्षेत्रको सुपरिवेक्षण क्षमता थप सुदृढ बनाउने र नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिर निकाल्ने विषयलाई पनि महत्त्वपूर्ण प्राथमिकताका रूपमा औँल्याएको छ। ग्रे लिस्टबाट बाहिरिन सके नेपालको अन्तर्राष्ट्रिय वित्तीय छवि सुधारिनुका साथै वैदेशिक लगानी आकर्षित गर्न पनि सहयोग पुग्न सक्छ।

पूर्वगभर्नर अधिकारीले पाएका ग्रेड

यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर रहेका महाप्रसाद अधिकारीले पनि ग्लोबल फाइनान्सको सेन्ट्रल बैंकर रिपोर्ट कार्डमा ग्रेड प्राप्त गरेका थिए। उनले सन् २०२३ मा ‘बी माइनस’ (B−) र २०२४ मा ‘सी प्लस’ (C+) ग्रेड पाएका थिए। यसरी अधिकारीको पछिल्लो मूल्यांकनमा पाएको C+ भन्दा पौडेलको २०२६ को B ग्रेड माथिल्लो श्रेणीमा परेको छ।

विश्वव्यापी मौद्रिक नीतिमा बदलिँदो परिस्थिति

ग्लोबल फाइनान्सका अनुसार जुलाई २०२५ देखि जुलाई २०२६ सम्मको एक वर्ष विश्वभरका केन्द्रीय बैंकका लागि चुनौतीपूर्ण रह्यो। मौद्रिक नीतिमा तीव्र परिवर्तन, व्यापार अवरोध, इरानसँगको द्वन्द्वका कारण बढेको ऊर्जा मूल्य र अमेरिकी केन्द्रीय बैंकको स्वतन्त्रतामाथि उठेको राजनीतिक दबाबले विश्व अर्थतन्त्रलाई प्रभावित पारे।

विश्वव्यापी रूपमा ब्याजदर घटाउने क्रम अपेक्षाभन्दा चाँडै रोकिएको र केही अर्थतन्त्रमा पुनः ब्याजदर बढाउने दबाब सिर्जना भएको रिपोर्टमा उल्लेख छ। अमेरिकी डलरको मजबुती र ऊर्जा आपूर्ति शृंखलामा आएको अवरोधले उदीयमान अर्थतन्त्रमा मुद्रास्फीतिको दबाब बढाएको थियो।

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२६ मा उदीयमान बजार तथा विकासशील अर्थतन्त्रको आर्थिक वृद्धिदर प्रक्षेपण ४.२ प्रतिशतबाट घटाएर ३.९ प्रतिशतमा झारेको र मुद्रास्फीति प्रक्षेपण ४.८ प्रतिशतबाट बढाएर ५.५ प्रतिशत पुर्‍याएको रिपोर्टमा उल्लेख छ।

यस्तो विश्वव्यापी अनिश्चितताबीच केन्द्रीय बैंकहरूको मौद्रिक नीति एउटै दिशामा अघि बढ्नुको सट्टा आन्तरिक आर्थिक अवस्थाअनुसार फरक हुन थालेको ग्लोबल फाइनान्सको विश्लेषण छ। यसले केन्द्रीय बैंकको नीतिगत स्वतन्त्रता र आर्थिक अवस्थाअनुसार निर्णय लिन सक्ने क्षमताको महत्त्वलाई थप उजागर गरेको छ।

ग्लोबल फाइनान्सले वित्तीय क्षेत्रका जानकारहरूको सुझाव र सम्पादकीय मूल्यांकनसहित वस्तुगत तथा व्यक्तिपरक सूचकका आधारमा यस्तो ग्रेड निर्धारण गर्ने जनाएको छ। कम्तीमा एक वर्ष पदमा रहेर काम गरेका गभर्नरलाई मात्र ग्रेड प्रदान गर्ने यसको मापदण्ड छ।