काठमाडौँ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको उत्पादन बन्द भएपछि कम्पनीको आम्दानीसँगै ऋण व्यवस्थापनमा समेत दबाब बढ्ने देखिएको छ।
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार कम्पनीमाथि विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन र अल्पकालीन गरी करिब १७ अर्ब ७० करोड रुपैयाँ ऋण रहेको छ।
आयोजना पुनः सञ्चालनमा आउन समय लम्बिँदै गएमा नियमित आम्दानी प्रभावित हुने र त्यसको असर ऋणको ब्याज तथा किस्ता भुक्तानीमा पर्न सक्ने कम्पनीले जनाएको छ। यद्यपि, बाढीबाट भएको वास्तविक वित्तीय क्षति र ऋण सेवा व्यवस्थापनमा पर्ने प्रभाव विस्तृत मूल्याङ्कनपछि मात्रै यकिन हुने बताइएको छ।
बाढीले आयोजनाका बाँधस्थलका बाहिरी संरचना, विद्युत्गृह, साइट कार्यालय, कर्मचारी आवास, सवारीसाधन, हेभी इक्विपमेन्ट, पक्की पुल र पहुँचमार्गमा क्षति पुर्याएको छ। भूमिगत विद्युत्गृहमा लेदो भरिएको छ भने इलेक्ट्रोमेकानिकल उपकरण तथा प्रसारण लाइनका तीनवटा टावरमा पूर्ण क्षति पुगेको कम्पनीले जनाएको छ।
आयोजनास्थल पुग्ने स्याफ्रुबेँसीदेखि करिब १६ किलोमिटर सडकखण्डका चारवटा पक्की पुल र पहुँचमार्गसमेत नष्ट भएका छन्। सडक तथा पहुँचमार्ग पुनर्निर्माण नभएसम्म आयोजनास्थलमा पुगेर पुनःस्थापनाको काम अघि बढाउन कठिन हुने कम्पनीको भनाइ छ।
प्राविधिक मूल्याङ्कनपछि मात्रै आयोजना पुनः सञ्चालनमा आउन लाग्ने समय यकिन हुने बताइएको छ।
बीमाबाट पुनर्निर्माण खर्च धानिएला?
बाढीबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन पूरा नभएकाले पुनर्निर्माण लागत अहिले नै यकिन भएको छैन। भूमिगत विद्युत्गृह, इलेक्ट्रोमेकानिकल उपकरण, प्रसारण लाइन, पुल र पहुँचमार्गमा भएको क्षतिका कारण पुनःस्थापना खर्च ठूलो हुन सक्ने देखिएको छ।
आयोजनाको भौतिक संरचना, मेसिनरी तथा कर्मचारीको बीमा चालु रहेकाले कम्पनीले बीमा दाबी प्रक्रिया अघि बढाएको छ। बीमाबाट प्राप्त हुने रकम र वास्तविक पुनर्निर्माण लागतबीचको अन्तरले कम्पनीलाई आवश्यक पर्ने थप वित्तीय स्रोत निर्धारण गर्नेछ।
त्यसैले अहिले कम्पनीका लागि बीमा दाबीको टुंगो, पुनर्निर्माण लागत र आयोजना पुनः सञ्चालनमा फर्किने समय प्रमुख वित्तीय चुनौती बनेका छन्।
यसैबीच, बाढीमा आयोजनामा कार्यरत ९२ जना अझै बेपत्ता रहेको कम्पनीले जनाएको छ। खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पर्वतारोही संघका दक्ष पर्वतारोही, इन्जिनियर तथा टनेल विज्ञ परिचालन गरिएको छ। खोजीका क्रममा एक कर्मचारीको शव पहिचान भएको कम्पनीले जनाएको छ।







