काठमाडौँ । लोकगायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन काँसेको’ लाई लिएर उत्पन्न विवाद आपत्तिजनक शब्द हटाउने सहमतिसँगै टुङ्गिएको छ।
बुधबार साइबर ब्युरोको रोहबरमा गायक सेन्चुरी र हिन्दुवादी समूहका प्रतिनिधिबीच भएको छलफलमा गीतमा प्रयोग भएका विवादित शब्द हटाउने सहमति भएको हो।
साइबर ब्युरोका प्रवक्ता एसपी दिलीप गिरीका अनुसार दुवै पक्षबीच डेढ घण्टाभन्दा बढी छलफल भएको थियो। छलफलमा गायक सेन्चुरीले गीत सम्पादन गर्ने लिखित सहमति जनाएपछि विवाद टुङ्गिएको उनले बताए।
‘दुवै पक्षबीच करिब डेढ घण्टाभन्दा बढी छलफल भएको थियो। गायक सेन्चुरीले आफ्नो गीत सम्पादन गर्ने सहमति जनाएपछि विवाद मिलेको हो,’ प्रवक्ता गिरीले भने।
करिब एक महिनाअघि सेन्चुरीले आफ्नै शब्द, संगीत र स्वरमा सार्वजनिक गरेको उक्त गीतविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो। गीतमा बाहुन समुदायलाई होच्याउने शब्द प्रयोग गरिएको भन्दै हिन्दुवादी अभियन्ताहरूले उजुरी दिएका थिए।
उजुरीपछि साइबर ब्युरोले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। मंगलबारको छलफल निष्कर्षविहीन भएपछि बुधबार पुनः छलफल गरिएको थियो। दोस्रो दिनको छलफलमा भने दुवै पक्षबीच सहमति जुटेको हो।
गोधुली क्रियसन प्रालिले बजारमा ल्याएको उक्त गीतमा सेन्चुरीसँगै गायिका दीपिका बयम्बु मगरको पनि स्वर रहेको छ। सहमति अनुसार सेन्चुरीले गीतमा रहेको ‘खान्छौ कि खान्नौ बंगुरको मासु, लौ खाऊ न त सुंगुरको मासु’ भन्ने शब्द हटाउने भएका छन्।
गीत र भिडियोले बाहुन समुदायलाई होच्याएको आरोप लगाउँदै हिन्दुवादी अभियन्ताहरूले साइबर ब्युरोमा उजुरी दिएका थिए। उजुरीमा उक्त गीतले सनातन हिन्दु समुदायबीचको एकता र सामाजिक सद्भावमा असर पार्न खोजेको आरोपसमेत लगाइएको थियो।
दुवै पक्षबीच भएको सहमतिपछि भने उक्त विवाद तत्कालका लागि टुङ्गिएको साइबर ब्युरोले जनाएको छ।







