काठमाडौं । लोकगायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन काँसेको’ विवादमा परेको छ। गीतका केही शब्दले बाहुन समुदायलाई होच्याएको भन्दै हिन्दुवादी अभियन्ताहरूले आपत्ति जनाएपछि विवाद साइबर ब्युरोसम्म पुगेको हो।
हिन्दुवादी अभियन्ता सागर थापालगायतले गीतलाई लिएर साइबर ब्युरोमा उजुरी दिएका छन्। उजुरीपछि ब्युरोले मंगलबार गायक सेन्चुरी र अभियन्ता पक्षलाई बोलाएर छलफल गरेको थियो। तर, दुवै पक्षबीच सहमति नजुटेपछि छलफल निष्कर्षविहीन भएको ब्युरोका प्रवक्ता एसपी दिलीप गिरीले बताए।
गिरीका अनुसार गीतमा समावेश ‘खान्छौ कि खान्नौ बङ्गुरको मासु, लौ खाऊ न त सुँगुरको मासु’ भन्ने पंक्तिलाई लिएर अभियन्ताहरूले मुख्य आपत्ति जनाएका छन्। उनीहरूले उक्त गीत हटाउन माग गरेका छन्।
‘हिजो दुवै पक्षसँग छलफल भएको थियो, उक्त छलफल निष्कर्षमा पुग्न सकेन,’ गिरीले भने, ‘आज फेरि छलफलमा बोलाइएको छ। आज यस विषयमा टुङ्गो लाग्छ होला।’
गीतका शब्द, संगीत र प्रस्तुति गायक सेन्चुरीकै रहेको छ। करिब एक महिनाअघि सार्वजनिक भएको यो गीत पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा आएपछि विवादमा तानिएको हो।







