काठमाडौं। नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दै गएको छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले संघीय संसद्को अर्थ समितिमा प्रस्तुत गरेको तथ्याङ्कअनुसार असोज १३ गतेसम्म डिम्याट खाता खोल्नेको सङ्ख्या ८० लाख ९५ हजार पुगेको छ।

यस अवधिसम्म ‘मेरो सेयर’ का सक्रिय खाता ५१ लाख २२ हजार पुगेका छन् भने गत आर्थिक वर्षको असार मसान्तसम्म कारोबार खाता खोल्ने लगानीकर्ताको सङ्ख्या ३५ लाख ६२ हजारभन्दा बढी रहेको छ।

ADVERTISEMENT

बोर्डका अनुसार सङ्गठित संस्थाले सङ्कलन गरेको पुँजीमा साधारण सेयरको हिस्सा ४६.२६ प्रतिशत, संस्थागत ऋणपत्र ३१.०३ प्रतिशत र सामूहिक लगानी कोष १४.८१ प्रतिशत छ। विशिष्टीकृत लगानी कोषको हिस्सा ५.१७ प्रतिशत र अग्राधिकार सेयरको २.१७ प्रतिशत रहेको छ। हालसम्म २० वटा विशिष्टीकृत लगानी कोषलाई ४८ अर्ब २५ करोड रुपैयाँ पुँजी परिचालनको स्वीकृति दिइएको छ।

ADVERTISEMENT

असोज १३ गते नेप्से सूचकाङ्क २६०३.७१ बिन्दुमा रहेको थियो भने कुल बजार पुँजीकरण ४४ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८२/८३ मा धितोपत्र बजारबाट १५ अर्ब ६१ करोड रुपैयाँ राजस्व सङ्कलन भएकोमा चालु आर्थिक वर्षको भदौ मसान्तसम्म १ अर्ब ५४ करोड रुपैयाँ राजस्व प्राप्त भएको बोर्डले जनाएको छ।

गत आर्थिक वर्षमा ५२ संस्थालाई ७९ अर्ब ७३ करोड रुपैयाँ पुँजी परिचालनको स्वीकृति दिइएको थियो। चालु आर्थिक वर्षको असोज मसान्तसम्म भने चार संस्थालाई ४ अर्ब ६० करोड रुपैयाँ बराबरको पुँजी परिचालन गर्न अनुमति दिइएको छ।

ADVERTISEMENT