काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली ३–ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कविर महर्जन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि शुक्रवार अस्पतालबाट बिदा गरिएका महर्जनलाई ललितपुरस्थित उनको स्वागत गरिएको छ । गत भदौ १० गते आएको भीषण बाढीका कारण जलविद्युत आयोजनाको सुरुङभित्र फसेका महर्जनको उद्धार कार्य विश्वभर चर्चाको विषय बनेको थियो ।

ADVERTISEMENT

१० दिनसम्म अँध्यारो सुरुङमा अन्धकार र अनिश्चयबीच संघर्ष गरिरहेका महर्जनलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले अदम्य शाहसका साथ जीवितै बाहिर निकालेको थियो ।

ADVERTISEMENT

उद्धारपश्चात उपचारका लागि अस्पताल भर्ना गरिएका महर्जनको स्वास्थ्य अवस्थालाई चिकित्सकहरूले नजिकबाट निगरानी गरेका थिए । लामो समयको मानसिक तथा शारीरिक तनावपछि महर्जनको स्वास्थ्यमा क्रमश: सुधार आएको अस्पताल स्रोतले जनाएको छ ।

शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने क्रममा उनी पूर्णरूपमा होसमा र स्वस्थ देखिएका थिए । काठमाडौंबाट ललितपुरस्थित आफ्नो निवासतर्फ फर्कने क्रममा विभिन्न स्थानमा स्थानीयले उनलाई फूलमालाले स्वागत गर्दै स्वास्थ्य लाभको कामना गरेका थिए ।

ADVERTISEMENT

महर्जनले आफूलाई नयाँ जीवन प्रदान गर्ने उद्धारकर्ताहरू र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूप्रति आभार व्यक्त गरेका छन् ।