काठमाडौं । अभिनेता निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको नेपाली फिल्म ‘आचार्य’ को ट्रेलरले सार्वजनिक भएको दुई दिनमै १० लाखभन्दा बढी भ्युज पाएको छ। असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरलाई लिएर नेपालसँगै भारतमा समेत चर्चा बढेको निर्माण पक्षले जनाएको छ।
निर्माण पक्षका अनुसार भारतका विभिन्न क्षेत्रका फिल्म पत्रकार, कलाकार तथा दर्शकले सामाजिक सञ्जालमार्फत ‘आचार्य’को ट्रेलरबारे प्रतिक्रिया दिइरहेका छन्। विशेषगरी दक्षिण भारतसहित विभिन्न फिल्म क्षेत्रमा नेपाली फिल्मको बदलिँदो स्तरबारे चर्चा हुन थालेको बताइएको छ।
भारतीय फिल्म पत्रकार तथा दर्शकले नेपाली फिल्म पछिल्लो समय प्राविधिक तथा प्रस्तुतिका हिसाबले अगाडि बढेको प्रतिक्रिया दिएका छन्। उनीहरूले नेपाली फिल्मलाई भारतीय फिल्मको अनुकरण गर्ने उद्योगका रूपमा मात्र हेर्न नहुने र आफ्नै पहिचानसहित अन्तर्राष्ट्रिय बजारमा पुग्ने सम्भावना रहेको उल्लेख गरेका छन्।
ट्रेलरमा देखाइएको एक्सन, द्वन्द्व, प्रस्तुति तथा निखिल उप्रेतीको उपस्थितिलाई लिएर समेत भारतीय दर्शक तथा फिल्मकर्मीले प्रतिक्रिया दिएका छन्। भारतीय कलाकार रघुबाबुसहित केही कलाकारले भारतका फिल्म स्टुडियो तथा प्रोडक्सन हाउसमा समेत ‘आचार्य’ र निखिल उप्रेतीबारे चर्चा भइरहेको बताएका छन्।
निखिल उप्रेतीकै निर्देशन तथा अभिनय रहेको फिल्ममा एक्सनसँगै भावनात्मक सम्बन्ध र सामाजिक परिवेशलाई प्रस्तुत गरिएको छ। ट्रेलर सार्वजनिक कार्यक्रममा निखिलले नेपाली फिल्म आफ्नै बलमा अगाडि बढ्नुपर्ने र नेपाली दर्शकले नेपाली फिल्मलाई माया गर्नुपर्ने बताएका थिए।
यसअघि भारतीय फिल्मको प्रभाव र शैली पछ्याउने गरेको आरोप खेप्दै आएको नेपाली फिल्म उद्योगले पछिल्लो समय आफ्नै कथा, शैली र प्रस्तुतिमार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ पुग्ने प्रयास गरिरहेको छ। ‘आचार्य’को ट्रेलरलाई भारतमा आएको प्रतिक्रियाले पनि नेपाली फिल्मप्रतिको छिमेकी मुलुकको चासो बढिरहेको संकेत गरेको निर्माण पक्षको भनाइ छ।
नेपालमा पनि ट्रेलर सार्वजनिक भएपछि फिल्मको एक्सन, निखिल उप्रेतीको प्रस्तुति र निर्माणस्तरलाई लिएर चर्चा भइरहेको छ। ‘आचार्य’ असोज ९ गतेदेखि नेपालसहित विभिन्न स्थानमा प्रदर्शनमा आउने तयारीमा छ।






