काठमाडौं । आभास रिजालले निर्देशन गरेको वृत्तचित्र ‘द विटनेस अफ यारा’ ले इटालीको ट्रेन्टो सहरमा आयोजित २९ औं रिलिजनल टुडे इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट लघु वृत्तचित्रको अवार्ड जितेको छ ।
झन्डै ३८ सय मिटर उचाइमा छायाकन गरिएको यस वृत्तचित्रमा एक युवतीको आँखाबाट नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेका असरहरूलाई देखाइएको छ । जलवायु परिवर्तनले पारेको प्राकृतिक, सांस्कृतिक र सामाजिक असरलाई यस वृत्तचित्रमा देखाइएको छ ।
‘प्रकृति, अध्यात्म र संस्कृतिको बेजोड मिश्रण रहेको सहरमा अवार्ड लिन पाउनु मेरा लागि गर्वको विषय हो । १० भदौमा गएको भोटेकोशी बाढीमा मेरा धेरै आफन्त र साथीभाइ नै परेकाले मैले यो उपलब्धिमा पनि खुसी मनाइरहनसक्ने अवस्था छैन,’ रसुवाका घर भएका रिजालले भने, ‘म हुर्किएको गाउँ, मैले पढेको विद्यालय बगेको छ । सयौं महिला विधवा सयौं बालबालिका अनाथ भएका छन् । म एकपटक बाढीमा मृत्यु भएकाहरूलाई सम्झना गर्न चाहन्छु र यस प्रतिकूल घडीमा नेपालप्रति सहयोग र सद्भाव प्रकट गर्ने सबैलाई आभार प्रकट गर्न चाहन्छु ।’
१५ मिनेट २९ सेकेन्ड समयको यस वृत्तचित्रलाई नारायण जिसी र विकल थापाले छायाकन गरेका हुन् ।
२९ वर्षदेखि निरन्तर आयोजना हुँदै महोत्सवको यस संस्करणमा ३७ देशका ६३ वटा फिल्म प्रदर्शन गरिएको थियो ।






