धनगढी। बझाङमा जिउँदै कुकुरलाई सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३ पडेसकी ४२ वर्षीया विमलादेवी रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिएका छन्।
प्रहरीका अनुसार रोकायालाई बिहीबार दिउँसो उनकै घरबाट पक्राउ गरिएको हो। उनलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट एक महिलाले कुकुरलाई सेती नदीमा फालेको देखिन्छ। भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाउँदै महिलाको पहिचान गरेको हो।
यसअघि प्रहरीले घटनास्थल पानकोट पुल आसपासमा खोजी गरे पनि नदीमा फालिएको कुकुरको अवस्था भने यकिन हुन नसकेको जनाएको थियो।
पक्राउ परेकी रोकायाले कुकुरलाई नदीमा फाल्नुको कारण तथा घटनाको अन्य विवरण अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ।






