काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको असर यस वर्षको तीज बजारमा पनि परेको छ। तीज नजिकिँदा सामान्यतया बढ्ने कपडा, चुरा, पोते, शृंगार सामग्री तथा गरगहनाको कारोबार यसपटक अपेक्षाअनुसार हुन सकेको छैन।
बाढीपछि उपभोक्ताको प्राथमिकता दैनिक आवश्यकतामा केन्द्रित हुँदा तीजका सामग्रीको माग घटेको व्यवसायीहरू बताउँछन्। देशमा देखिएको शोकको अवस्था र तीजका कार्यक्रम तथा सामूहिक दर खाने गतिविधिमा आएको कमीले पनि बजार प्रभावित भएको उनीहरूको भनाइ छ।
व्यवसायीहरूका अनुसार यस वर्ष नयाँ सामान ठूलो परिमाणमा आयात गरिएको छैन। पुरानै स्टकबाट व्यापार भइरहेको छ। चुरा, पोते र शृंगार सामग्रीको कारोबार विगतको तुलनामा ३० देखि ५० प्रतिशतमा सीमित भएको छ।
महँगा तथा गोल्ड प्लेटेड सामग्रीको बिक्री घटे पनि सस्ता चुरा र पोतेको माग भने तुलनात्मक रूपमा कायम छ। तीजका लागि रातो र गुलाबी कपडाको पर्याप्त स्टक राखिए पनि ग्राहकको चहलपहल कम हुँदा बिक्री प्रभावित भएको छ।
बाढीपहिरोका कारण आपूर्ति प्रणालीमा परेको असर, घट्दो उपभोक्ता खर्च क्षमता र तीजका कार्यक्रम कम हुनुका कारण यस वर्ष तीज बजार सुस्त देखिएको व्यवसायीहरूको भनाइ छ।







